सफा शहर घोषणा किन रोकियो ? यस्ता छन् कारण

प्रसन्न तामाङ, काठमाडौ २२ जेठ । हरेक बर्ष विश्व वातावरण दिवसको दिन घोषणा हुदै आएको सफा शहर यसबर्ष घोषणा नहुने भएको छ । पहिलो चरणमा छनौट भएका नगरपालिका मध्येबाट स्थलगत प्रमाणीकरण र अनुगमनका आधारमा तीन वटा नगरपालिकालाई सफा शहरको रुपमा छनौट गर्ने तयारी भएपनि स्थानीय तहको चुनावका कारण विश्व वातावरण दिवसकै दिन घोषणा गर्न नसकेको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो । ‘हामीले पहिलो चरणमा ६ वटा नगरपालिका चयन गरी स्थलगत प्रमाणीकरण र अनुगमनको काम पनि सकेका छौं, केही नगरपालिकाको स्थलगत प्रमाणीकरण गर्ने र त्यसपछि मूल्याङ्न गर्ने काम पूरा गर्न सकेनौं’ कार्यकारी निर्देशक ज्ञवालीले भन्नुभयो ।

उहाँका अनुसार विश्व वातावरण दिवसकै दिन घोषणा गर्न नसकेपनि यही आर्थिक बर्षभित्रै घोषणा गरिनेछ ।

यसबर्षको सफा शहरका लागि १५ वटा नगरपालिकाले प्रस्ताव पेश गरेकोमा यसअघि ६ वटा नगरपालिका छानिएका थिए । १५ मध्ये स्याङजाको वालिङ नगरपालिकालाई प्रतिस्पर्धामा नराखी बाँकी १४ वटा नगरपालिकाबाट प्रारम्भिक मूल्याङ्कन गरी ६ वटा नगरपालिका  छानिएका थिए ।

स्याङजाको वालिङ नगरपालिका गत बर्षको पहिलो सफा सहर घोषित नगरपालिका भएकाले प्रतिस्पर्धामा सामेल नगराएका फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका वातावरण विज्ञ सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

छनौट गरिएका भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा र इलाम नगरपालिका मध्ये यसबर्षको सफा सहरका लागि कुन कुन छानिने हुन् ? अझै केही समय पर्खनुपर्नेछ ।

सफा शहर छनौटका लागि मूल्याङ्कन समिति
सफा सहर छनौटका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीको संयोजकत्वमा ६ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ ।

मूल्याङ्कन समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाका प्रमुख, खानेपानी तथा सरसफाइ मन्त्रालयका उपसचिव, विज्ञको तर्फबाट फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका वातावरण विज्ञ सन्तोष श्रेष्ठ, नेपाल नगरपालिका संघका कार्यकारी सचिव सहित ४ जना सदस्य र सफा शहर कार्यक्रम हेर्ने अधिकृत सदस्य सचिव हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार