म्याग्दी ४ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा चन्दा संकलन गरेर निःशुल्क सुरक्षित पानीको व्यवस्था गरिएको छ । बेनी नगरपालिका–७ को बीरेन्द्रचोक टोल सुधार समितिले स्थानीयबासिन्दा र संघसंस्थाबाट संकलन गरेको एक लाख ९५ हजार ४३ रुपैयाँ चन्दाबाट जिल्ला प्रशासन कार्यालय अगाडिको पीपल चौतारी परिसरमा युरोगार्ड जडित ट्याङ्की र धारामार्फत पिउने पानीको व्यवस्था मिलाएको हो ।
गाउँबाट सदरमुकाममा सेवा लिन आउने सेवाग्राही तथा नागरिक, सदरमुकाम आवतजावत गर्ने बटुवा, पर्यटक, सर्वसाधारण, विद्यार्थी र बजारवासीका लागि खानेपानीको सुलभ व्यवस्था नहुँदा महँगो पानी किन्नुपर्ने अवस्था रहेकाले निःशुल्क रुपमा सुरक्षित पानीको व्यवस्था गरिएको बीरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाकाभित्र गठित टोल सुधार समितिले फोहोरमैला व्यवस्थापन देखि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । समितिले नालीको मर्मत सम्भार, सरकारी कार्यालय आसपासका क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापनका लागि घरदैलोमै डस्टविनको व्यवस्था समेत गरेको छ ।
बीरेन्द्रचोक टोल सुधार समितिले प्रत्येक हप्ताको मङ्गलबार र शनिबार सार्वजनिक स्थलको सरसफाइ गर्दै आएको छ । नगरपालिका क्षेत्रभित्र स्थापना भएका टोल सुधार समिति मध्ये बीरेन्द्रचोक टोल सुधार समितिलाई गत नगर परिषदले उत्कृष्ट घोषणा गरेको थियो ।