दिक्पाल गिरी, काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरबाट विजुली निकालेको छ । काठमाडौ महानगरपालिकाको वडा नं १२ र १९ का बासिन्दाको घरबाट निकालेको जैविक फोहरबाट परिक्षणको रुपमा विजुली निकालिएको हो । महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्न तीन मेट्रिक टन जैविक फोहोर आवश्यक पर्नेछ । यसका लागि काठमाडौको टेकूमा ग्यास प्लान्ट निर्माण गरिएको छ ।
ग्यास प्लान्टको उदघाटन गर्दै काठमाडौ नगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहरलाई उर्जामा रुपान्तरण गर्न सके फोहर व्यवस्थापनका लागि समस्या नहुने बताउनुभयो । उहाँले यो कार्यको शुरुवात काठमाडौ महानगरपालिकाले गरेको र अरु नगरपालिकाले पनि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
फोहोरबाट उर्जा निकाल्ने कामको शुरुवातले जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उहाँले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको बताउनुभयो । यस्तै उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रुपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौलाई विश्वसामु सुन्दर सहरका रुपमा चिनाउन फोहोरको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहोरलाई आयआर्जनका लागि रुपान्तरण गर्ने उद्देश्यले एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि काठमाडौ महानगरपालिकाको २० प्रतिशत र युरोपेली संघको ८० प्रतिशत गरी एक करोड ८२ लाख रुपैयाँ लगानी गरिएको छ ।
परियोजना २०७० चैत १८ गतेबाट शुरु गरिएको थियो ।