वडा अध्यक्षले नै पसलेको घर अगाडि फोहोर फ्याँकेपछि ……

ललितपुर : केही दिन अघि लगनखेल प्रहरी चौकीमा नवनिर्वाचित ५ नं. वडा अध्यक्ष विकासमान श्रेष्ठ विरुद्ध टोलबासीले सामूहिक रुपमा उजुरी दिए । उजुरीको विषय थियो ‘अरुको पसल अगाडि वडा अध्यक्षले फोहोर फ्याँकेकोमा कार्वाही गरीपाऊँ’

वडा अध्यक्षले नै अरुको घर अगाडि फोहोर फ्याँकेको भन्ने उजुरी आएपछि प्रहरी पनि छक्क प-यो । प्रहरीले सत्यतथ्य बुझ्न वडा अध्यक्ष विकासमान श्रेष्ठलाई चौकीमा उपस्थित गराउने भन्दा पनि उजुरीकर्ता र प्रहरीलाई नै वडा नंं. ५ को कार्यालयमा परिचालन गर्ने निधो ग-यो र प्रहरी नायव निरीक्षक कृष्ण थापा नेतृत्वको प्रहरी टोली र उजुरीकर्तालाई उतै खटायो ।

…………………………………………………………………………………………………………………….

प्रहरी टोली र टोलबासी पुग्दा वडा अध्यक्ष विकासमान श्रेष्ठ धमाधम सेवाग्राहीको काम गरिरहनुभएको थियो । प्रहरी र टोलबासीको हुल देखेपछि किन आएको होला भन्ने अड्कल गर्न विकासमानलाई गाह्रो भएन ।

तैपनि केही थाहा नभएजस्तो मात्र गर्नुभयो । केही बेरमा टोलबासी कड्किन थाले  ‘वडा अध्यक्ष भएर पनि जथाभावी फोहोर फाल्ने, अरुको पसल अगाडि अगाडि फोहोरको पोको फाल्ने वडा अध्यक्षलाई ऐनले तोकेको भन्दा दोब्बर जरीवाना हुनुपर्छ’ टोलबासीले आफूमाथि गालीको बर्षा गरिरहँदा पनि वडा अध्यक्ष विकासमान मुस्कुराइरहे । उहाँ मुस्कुराइ रहँदा पनि गाली गर्न छाडेनन् उनीहरुले, कतिले त फोहोरमैला व्यवस्थापन ऐन समेत पढेर आउन भ्याएका रहेछन् उनीहरुले सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई एक लाख रुपैयाँसम्म जरीवाना र एक वर्षसम्म कैद हुने स्मरण गराउदै थिए ।

अब बोल्ने पालो आयो वडा अध्यक्ष विकासमान श्रेष्ठको । उहाँले अरुको घरको आँगनमा फोहोर फालेको पनि स्वीकार्नुभयो, सँगै यसो गर्नको कारण पनि सुनाउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले अरुको घर आँगनमा फोहोर फ्याँक्नको कारण के रहेछ भने  आफ्नो वडालाई सफा सुग्घर राख्ने मुख्य एजेण्डा राखेर चुनाव श्रेष्ठले शुरुमा आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न सबैलाई आग्रह गर्नुभएछ ।

तर आफ्नो आग्रहलाई वेवास्ता गर्दै घर अगाडिको फोहोर समेत आफूले नगरेको जस्ता गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उहाँले अरुको घरमा आफै गएर फोहोर फ्याँक्न थाल्नु भएछ । ‘आफ्नो घरको अगाडि कसले फोहोर फ्याँक्छ, अरुले फ्याँक्यो भने त्यो मान्छे पत्ता लगाएर कार्वाही गर्दैनन् ? तर घरको अगाडि फोहोर राख्ने अनि मैले गरेकै होइन भन्ने, हेरौं न त ? अरुले फोहोर फ्याँक्दा चुप लागेर बस्दो रहेछ कि मान्छे पत्ता लगाएर कार्वाहीको पाइला चाल्दो रहेछ भनेर मैले फोहोर फ्याँकेकै हुँ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘फोहोर फ्याँक्ने व्यक्ति पत्ता लगाएर मलाई प्रहरीमा उजुरी दिएपछि प्रमाणित भयो कि ? यस अघि घर अगाडि फोहोर फ्याँक्ने उहाँहरु आफै हुनुहुन्थ्यो ।’

वडा अध्यक्ष श्रेष्ठको बयान सुनेपछि प्रहरी पनि छक्क परे, अनि वडा अध्यक्ष विरुद्ध उजुरी दिन पुगेका टोलबासी जिल्ल भए । टोललाई सफा राख्न रचेको उहाँको जुक्तिको प्रसंशा भयो । अनि प्रहरीले वडा अध्यक्ष र टोलबासीबीच फोहोर जथाभावी नफाल्ने र आफ्नो घरमा उत्पादन भएको फोहोर आफैले व्यवस्थापन गर्ने सहमति गरायो ।

……………………………………………………………………………………………………………………

आफ्नो घरको फोहोर आफैले व्यवस्थापन गर्ने सहमति भएको केही दिनपछि ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ फेरि त्यही ठाउँमा पुग्नुभयो । जहाँको वातावरण पहिलेभन्दा एकदमै राम्रो देखिन्थ्यो, सडकको छेउछाउ कतै पनि फोहोरको पोको नदेखेपछि उहाँ पनि आफ्नो जुक्ति सफल भएकोमा खुसी हुदै फर्किनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार