पर्यटकीय स्थल लुक्लामा यसरी गरिन्छ फोहोर सरसफाइ

प्रसन्न तामाङ, सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ओर्लनसाथ शुरु हुने लुक्ला— सगरमाथा आधारशिवीर पदमार्गमा पर्ने बाटोघाटो, बिसौनी र घर आँगनमा समेत फोहोर फाल्ने ठाउँको व्यवस्था गरिएको छ । पर्यटकहरु त्यही स्थानमा फोहोर फ्याँक्छन् ।
तीन वटा कोठा रहने घरजस्तो आकारका फोहोरमैला फाल्ने ठाउँ, एकातिर टीन तथा क्यानहरु, अर्कोतिर सीसाका टुक्राहरु र अर्कोमा प्लाष्टिक तथा कागजहरु फ्याँक्न मिल्ने गरी बनाइएका छन् । सगरमाथा पोलुसन् कन्ट्रोल कमिटीले फोहोर व्यवस्थापनका लागि बाटोमा डस्टविन राखेको हो ।
पर्यटकले उचित स्थानमा विसर्जन गरेको फोहोर निकालेर व्यवस्थापन गर्नका लागि कमिटीले केही फोहोर संकलकहरु खटाएका हुन्छन् । उनीहरुले ती फोहोरहरु संकलन गरी जल्ने फोहोरलाई जलाउने र नजल्ने फोहोरलाई खाडल खनेर गाड्ने गर्दछन् । फोहोर संकलक किर्तसिं राई भन्नुहुन्छ ‘फोहोरको स्रोतमै छुट्याएपछि त्यसलाई व्यवस्थापन गर्न सजिलो नै हुन्छ ।’
फोहोर फ्याँक्नका लागि तोकिएको स्थानमा जम्मा भएका फोहोरलाई संकलन गरी जलाउनुको अलावा कमिटीले जनचेतनात्मक कार्यक्रम पनि सञ्चालन गदैै आएको छ । जसका कारण खुम्बुका प्रत्येक घरधुरीबाट निस्केको फोहोर आफै व्यवस्थापन गर्ने गर्दछन् । अर्का फोहोर संकलन रंगबहादुर राई.भन्नुहुन्छ ‘सबै घरमा फोहोर हुदैनन्, कतिले त आफैले व्यवस्थापन पनि गर्ने गर्छन् ।’
फोहोरमैला सुन्दर, सभ्य र समृद्ध समाजको कलंक हो । मानिसको फोहोरी आनीबानीका कारण देशका सुन्दर बस्ती र शहरहरु फोहोरको डंगुरमा परिणत हुदै गइरहेको छ । आफ्नो घरबाट निस्केको फोहोर आफैले व्यवस्थापन गर्न सकेमा आफ्नो गाउँ बस्ती शहरबजार सदा सफा हुने फोहोर संकलकहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार