चर्पी प्रयोग गर्न थालेपछि डोटीमा झाडापखालाका बिरामी घटे

🔗
7
Shares

डोटी : डोटीमा गत बर्षको तुलनामा झाडापखालाका विरामी घटेका छन् । गत आर्थिक बर्षको जेठ मसान्तसम्म ७ हजार ३० जना झाडापखालाका विरामी भेटिएकोमा चालु आर्थिक बर्षको सोही अवधिसम्ममा ५ हजार ७ सय ७७ जना झाडापखालाका विरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर गिरिस अवस्थीले जानकारी दिनुभयो ।

जिल्लाको सबै घरमा चर्पी बनाएर प्रयोगमा आएपछि झाडापखालाका विरामी घटेको डाक्टर अवस्थीले बताउनुभयो । पुरानो संरचना अनुसार डोटीको ५० गाबिस र एक नगरपालिका खुला दिसामुक्त भइसकेका छन् ।

‘एक घर एक शौचालय निर्माण भएर प्रयोगमा आएपछि जथाभावी दिसापिसाब गर्ने मानिसमा कमी आयो, यसले झाडापखाला लाग्न पाएन, झाडापखाला लाग्ने कारण खुला दिसापिसाब नै हो’ डाक्टर अवस्थीले भन्नुभयो ।

साबिकका गाबिस तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्नु अघि झाडापखाला लगायतका मौसमी रोगबाट ग्रस्त बिरामी उल्लेख्य हुने गर्दथ्यो । अहिले भने झाडापखालासँगै मौसमी विरामी समेत घटेका जिल्ला अस्पताल डोटीका प्रमुख शतिस विष्टले बताउनुभयो ।

‘गाउँघर तिर पनि छिटफुट बाहेक झाडापखालाका बिरामी पहिलेजस्तै देखिएका छैनन्, एक बर्षकै डाटा विश्लेषण गर्दा झण्डै १५ सय विरामी घटेका छन्, यो स्वास्थ्य क्षेत्रका लागि राम्रो सूचक हो’ प्रमुख विष्टले भन्नुभयो ।

दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीका ४३ हजार ६ सय ६१ घरमै चर्पी बनिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार