काठमाडौ : काठमाडौ महानगरलाई मास्क नलगाई हिड्न मिल्ने अवस्थामा पु-याइने महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता जनाउनुभएको छ ।
काठमाडौ महानगरपालिका २१ वडाको सफाइ अभियानमा शुक्रबार सहभागी हुनुभएका शाक्यले नगर सफाइका लागि जनप्रतिनिधि सँगै नगरबासीको सहयोग पनि अपरिहार्य भएको बताउँदै आफूले शहर सफाइका लागि कार्ययोजना बनाइ लागु गरिसकेको बताउनुभयो । ‘महानगरपालिकामा घाम उदाउनु अघि नै फोहर संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन म हरदम लागिरहेको छु’ उहाँले भन्नुभयो ।
काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीलाई घरभित्रको फोहर जथाभाबी नफ्याँक्न आग्रह गर्दै स्रोतमै कुहिने र नकुहिने फोहर अलग अलग सङ्कलनका लागि महानगरले चाँडै साधन उपलब्ध गराउने जानकारी दिनभुयो ।
वडा २१ अन्तर्गतको सफाइ लगन चोकबाट शुरु भएर जैसीदेवल, मजिपा, यङ्गाल हुँदै लगन चोकमै आएर समापन भएको थियो । अभियानमा वडा अध्यक्ष तथा सदस्यहरु, महानगरका कर्मचारी, टोलबासी लगायतको सहभागिता थियो ।
वडां. २१ वडाको सफाइ अभियानमा काठमाडौ महानगरपालिकाको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यको समेत सहभागिता थियो । नगर सफाइको दायित्व महानगरवासीको पनि भएकाले सफाइमा सहभागी हुन वडा अध्यक्षहरुले आग्रह गर्नुभयो । वडा नं. २१ को सफाइबाट १७ टन फोहर व्यवस्थापन गरिएको छ ।