ओखलढुङ्गा ४१ औं खुला दिसामुक्त जिल्ला

साबित्री राजभण्डारी, ओखलढुङ्गा : ओखलढुङ्गालाई खुला दिसामुक्त घोषणा गरिएको छ । ओखलढुङ्गाका ३२ हजार ५ सय ४५ घरले नै चर्पी बनाएर प्रयोग गर्न थालेपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले ओखलढुङ्गालाई खुला दिसामु्क्त घोषणा गर्नुभयो ।

ओखलढुङ्गा खुलादिसामुक्त घोषणा भएसँगै देशको ४१ औं र प्रदेश नम्बर १ का जिल्ला मध्ये आठौ खुलादिसामुक्त जिल्ला बनेको छ । आजै प्रदेश नं. ७ को डोटीलाई पनि खुला दिसामुक्त घोषणा गरिएको छ ।

खुलादिसामुक्त घोषणा समारोहमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख ईञ्जिनियर कमलराज श्रेष्ठले व्यक्तिगत, सार्वजनिक र संस्थागत गरी ३३ हजार २ सय भन्दा बढी शौचालय निर्माण भई प्रयोगमा आएको बताउनुभयो ।

हातधुन पनि विदेशीको सहयोग ताक्नु लाजमर्दो — शिक्षामन्त्री श्रेष्ठ

शिक्षामन्त्री गोपालमान श्रेष्ठले चर्पी बनाउन र हात धुन पनि विदेशी सहयोग ताक्नुपर्ने अवस्था आउनु लाजमर्दो भएको बताउनुभयो । खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथि रहेका श्रेष्ठले अहिले पनि दिसा धुने र हात धुने तरिका, चर्पी बनाउन कर गर्नुपर्ने जस्ता कुरामै अल्झिरहेको र त्यसमा पनि विदेशीको मुख ताकिरहेकाले अब आफै जागरुक हुनुपर्ने बताउनुभयो ।

नेपालमा आधारभुत सरसफाइको अभावमा ८० प्रतिशत भन्दा बढी विरामी हुने गरेको र खुलादिसा अन्त्य र फोहोरलाई नियन्त्रण गर्न सके ५० प्रतिशत भन्दा बढी सरुवा रोग आफै नियन्त्रण हुने उहाँले बताउनुभयो । सन् २०१७ भित्र देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यलाई २०७२ को भूकम्पले प्रभावित तुल्याएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ओखलढुङ्गाका सांसदहरु यज्ञराज सुनुवार, सकुन्तला राजभण्डारी, हर्कबोल राई, रामहरि खतिवडा लगायतले खुलादिसामुक्त ओखलढुङ्गाका शान भएको र यसलाई निरन्तरता दिन आइपर्ने चुनौतीको मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति ओखलढुङ्गाले सरसफाइ अभियानमा सक्रिय भई खुला दिसामुक्त गराउन सहयोगी भूमिका निर्वाह गरेका विभिन्न संघ सस्था र गैह्र सरकारी संस्थालाई कदरपत्रले सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार