रुकुम : रुकुमको आठबीसकोट नगरपालिका–३ स्यालाखदी गाउँमा नौ किलोमिटर चट्टान काटेर खानेपानीको व्यवस्था गरिएको छ । मुहानदेखि गाउँसम्म २४ किलोमिटर दुरी मध्ये नौ किलोमिटर चट्टान काटेर जिआइ पाइप मार्फत पानी ल्याएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक बर्ष २०६८/६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजना शुरु गरेको थियो । आयोजना सम्पन्न गर्न एक करोड १६ लाख ४७ हजार खर्च भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख विकेश बधान थाचेले जानकारी दिनुभयो ।
चट्टान मात्र भएकाले नौ किलोमिटर खण्डमा फलामको जिआई पाइप प्रयोग गरिएको अध्यक्ष कर्णनाथ योगीले जानकारी दिनुभयो ।
गाउँमा पानी आएपछि खुसीयाली
वर्षौदेखि खोलाको पानी पिउन बाध्य आठबीसकोट नगरपालिका–३ स्यालाखदीका बासिन्दा घरआँगनमै पानी आएपछि खुशी भएका छन् ।
खानेपानी आयोजना निर्माण शुरु भएपछि पाँच वर्षमा गाउँमा पानी आएको हो । गाउँमा सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुशी भएका छन् । गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा स्यालाखदीका बासिन्दा गाउँभन्दा एकघण्टा टाढाबाट खोलाको पानी ल्याएर गुजारा चलाउदै आएका थिए ।