काठमाडौ, लिखिता बराल : काठमाडौ महानगरपालिकाले ठेला गाडा तथा रिक्सामा व्यवसाय गर्ने व्यवसायीलाई व्यवसाय करभन्दा फोहोरमैला शुल्क धेरै लगाएको छ । नयाँ करको दरहरु काठमाडौ महानगरपालिकाले ठेला गाडा तथा रिक्सामा गरिने खाद्य सम्बन्धी व्यवसायका लागि प्रति दिन व्यवसाय कर २० रुपैयाँ र फोहोरमैला शुल्क तीस रुपैयाँ तोकेको छ ।
खाद्य बाहेकका व्यवसायलाई भने कर र फोहोरमैला शुल्क २०/२० रुपैयाँ निर्धारण गरिएको छ ।
अब काठमाडौ महानगरपालिका भित्र ठेला गाडा तथा रिक्सामा व्यापार व्यवसाय गर्नेले व्यवसाय कर र फोहोरमैला शुल्क गरी मासिक १५ सय रुपैयाँ महानगरलाई बुझाउनुपर्नेछ । फुटपाथमा व्यापार गर्ने व्यापारीहरु यसबाट प्रत्यक्ष मारमा पर्ने र आफूहरुलाई हातमुख जोर्न पनि गाह्रो हुने व्यापारीहरु बताउँछन् ।
यस्तो व्यापार गर्दा काठमाडौ महानगरपालिकाबाट स्वीकृति लिएका स्थानमा मात्र गर्नुपर्ने, फोहोरमैला संकलन गर्ने भाँडाको व्यवस्था व्यवसायी आफैले गर्नुपर्ने र त्यस्ता फोहोरहरु तोकिएको स्थानमा मात्र विसर्जन गर्ने वा सवारी साधनलाई उपलब्ध गराउनुपर्ने महानगरपालिकाले जनाएको छ ।
धारा जडान सिफारीसका लागि ५ हजार
काठमाडौ महानगरपालिकाले धारा जडानका लागि गरिने सिफारीसमा १ हजार देखि ५ हजार रुपैयाँ सेवा दस्तुर तोकेको छ । नक्सा पास भएको घरको हकमा धारा जडान सिफारीसका लागि १ हजार रुपैयाँ र नक्सा पास नभएको घरका लागि ५ हजार रुपैयाँ तोकेको छ ।
सार्वजनिक स्थलमा फोहोर गराउने पशुपंक्षीका धनीलाई जरिवाना
तपाईले पशुपंक्षीय पाल्ने गर्नुभएको छ र सार्वजनिक स्थलमा बाँध्ने गर्नुभएको छ भने महानगरपालिकाले त्यस्ता पशुपंक्षीको धनीबाट जरीबाना असुल गर्ने भएको छ । आफूले पालेका पशुपंक्षी तथा अन्य जनावरलाई सार्वजनिक स्थलमा मलमूत्र गराएमा सम्बन्धित धनीलाई प्रति पटक १०० रुपैयाँ जरीबाना गर्ने महानगरको जनाएको छ ।
ल्याण्ड फिल्ड साइटमा फोहोर फ्याक्नेलाई प्रति पटक ३ सय देखि ५ सय
सिसडोल ल्याण्ड फिल्ड साइटमा काठमाडौ महानगरपालिका बाहेकका फोहोरमैला विसर्जन गर्ने गाडीले पनि शुल्क तिर्नुपर्ने भएको छ । महानगरका अनुसार ८ टन देखि माथिको गाडीका लागि प्रति पटक ५ सय र ८ टन भन्दा कम क्षमताका गाडीका लागि प्रति पटक ३ सय रुपैयाँ तोकिएको छ ।
ढल खोल्ने, सडक बढार्ने सेवाका लागि यस्ता छन् सेवा शुल्कको दर
निजी ढल खोल्ने जेट मेसिन (३ क्युविक मिटर) को प्रति घण्टा ८००
निजी ढल खोल्ने जेट मेसिन ठूलोको प्रति घण्टा १६०० रुपैयाँ
पानी ट्यांकी सेवा ६ हजार लिटरको प्रतिघण्टा १६०० रुपैयाँ
फोहोर बोक्ने टिपर सेवा प्रति पटक २३०० रुपैयाँ
सडक बढार्ने ब्रुमर सेवा प्रति घण्टा ७ सय रुपैयाँ
फोहोरमैला शुल्कमा २५ प्रतिशत सम्म बृद्धि, यस सम्बन्धी खबर अर्को अंकमा ……..