काठमाडौ, साबित्री राजभण्डारी : ‘हरेक शनिबार वाग्मती किनारमा भेला भयो, दुई घण्टा जत्ति यसो फोहोर टिपे झैं ग-यो, भाषण ग-यो, सकियो’ वाग्मती सफाइ अभियानका विषयमा कतिले यस्तै भन्ने गरेका छन् । वाग्मती नदी सरसफाइ आफ्नो संस्थाको प्रचारप्रसार गर्न टिसर्ट लाएर सेल्फी खिच्ने थलो भएको कतिपयको बुझाइ छ ।
तर वास्तविकता फरक छ । हरेक हप्ताको शनिबार वाग्मती सफाइको लागि छुट्याएको दुई घण्टाभित्र सफाइ अभियन्ता जस्तो सुकै फोहोर टिप्न पनि तयार हुन्छन् । फोहोर भनेर नाक थुन्दैनन्, जोखिम छ भनेर हेरेर मात्र फर्कदैनन् । पानी प-यो भनेर फोहोर संकलनको कामलाई थाँती राख्दैनन् ।
हेर्नुहोस् यो भिडियो :
वाग्मती सफाइका नियमित अभियन्ताहरु शुरुमा बुट लगाउँछन् । नाकमा मास्क लगाउँछन अनि लगाउँछन् हातमा पञ्जा । हातमा डोको बोकेर जहाँ जहाँ फोहोर छ, टिपेर डोकोमा हाल्छन् । नदी सलल बगिरहेको ठाउँमा केही फोहोर आएर अड्किरहेको छ भने अभियन्ता सबैजना बर्षेभेल नभनी निकाल्न पुग्छन् । यो क्रम विगत २ सय २० औं हप्तादेखि निरन्तर भइरहेको छ ।
उपत्यकाको नदी तथा चक्रपथ सफाइबाट २९ मेट्रिक टन फोहोर व्यवस्थापन
काठमाडौ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाभियानको २२० औँ हप्तामा आज टेकु दोभान क्षेत्रको सफाइबाट आठ मेट्रिक टन, गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजले गरेको १८१ औँ हप्ताको सफाइबाट दुई मेट्रिक टन, रुद्रमती सफाइको १७९ औँ हप्तामा रातोपुलदेखि ज्ञानेश्वर हुँदै आनन्द भैरव मन्दिरसम्मको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो ।
यस्तै विष्णुमती सफाइको १५१ औँ हप्तामा गोंगबु नयाँ बसपार्क क्षेत्रको नदी किनारबाट पाँच मेट्रिक टन, तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रमा सञ्चालन गरेको १२७ औं हप्ताको सफाइबाट एक मेट्रिक टन, सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको १६ औँ हप्ताको सफाइमा एक मेट्रिक टन र चक्रपथ सफाइको १६ औँ हप्तामा गोंगबुको बिजी मल अगाडि गरिएको सफाइबाट ११ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।