काभ्रेपलाञ्चोक, दिक्पाल गिरी : काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला ५ सेरामा सञ्चालित जैविक मल कारखानाले उग्रचण्डी र सेरा गाउँ दुर्गन्धित भएको छ । मल कारखानामा ल्याएका तरकारीको बोक्रा, केरा लगायत फलफूलको बोक्रा, कुखुराको सुली र मल बनाउन प्रयोग हुने अन्य पदार्थका कारण गाउँमा दुर्गन्ध फैलिएको हो ।
नेपाल इन्टिग्रेटेड मोडल एग्रो फर्म नामक मल कारखानाले जैबिक फोहोरलाई गाईभैसी तथा घोडाको गोबर, कुखुराको सुली र अरु जैबिक मिश्रणबाट मल तयार पार्दै आएको छ । यसका लागि मल कारखानाले बंगुर तथा गाईपालन पनि गर्दै आएको छ । गाउँलेहरुका अनुसार घाम चर्केको बेला गाउँमा बसिनसक्नु हुन्छ । आफ्नै घरभित्र बस्दा समेत नाक छोपेर बस्नुपर्ने पीडितहरु बताउँछन् ।
‘मल कारखाना स्थापना हुने बेला गन्ध आउँछ भन्ने थाहा भएन, अहिले हामीले गाउँ छाडेर जानुपर्ने अवस्था आइसक्यौं, गाउँमा बस्न सकिदैन, खाने बेला गन्ध आएपछि उल्टी होला जस्तो हुन्छ’ सेराकी धुन्तिका कुमारी दवाडीले भन्नुभयो ।
हेनुहोस् भिडियो :
मल कारखाना स्थापनाका लागि सरकारले १ करोड १४ लाख रुपैयाँ अनुदान दिएको छ । नेपाल सरकार माटो व्यवस्थापन निर्देशनालयबाट मेसिनरी सामग्री खरिदका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।
कारखाना स्थापनाका लागि मेसिनरी सामग्री किन्नका लागि २ करोड २८ लाख खर्च भएको र त्यसमा सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्वलगानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले शक्ति नामक अर्गानिक मल उत्पादन गर्दै आएको छ ।