धनकुटा नगरपालिका उत्कृष्ट सफा शहर घोषित

काठमाडौ, दिक्पाल गिरी : धनकुटा नगरपालिका २०७३ को सफा शहर घोषित भएको छ । सफा शहरको प्रतिस्पर्धामा रहेका १४ वटा नगरपालिका मध्येबाट धनकुटा उत्कृष्ट सफा शहर बन्न सफल भएको हो ।

यस्तै इलाम नगरपालिका दोस्रो र हेटौडा उपमहानगरपालिकालाई तेस्रो सफा शहरका रुपमा घोषणा गरिएको छ । सफा शहर हुन सफल तीनैवटै नगरपालिकाका प्रमुखलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सफा शहरका लागि प्रस्तावना पेश गरेका १४ वटा नगरपालिकाबाट मूल्याङ्कन समितिले ६ वटा नगरपालिका छनौट गरिएको थियो । ६ वटा मध्ये फोहोर व्यवस्थापन, हरियाली विकास र शहरी सौन्दर्य प्रबद्र्धन, प्रदुषण नियन्त्रण र व्यवस्थापन जस्ता पक्षको स्थलगत अध्ययन र प्रमाणीकरणको आधारमा धनकुटा नगरपालिका, इलाम नगरपालिका र हेटौडा उपमहानगरपालिकालाई छनौट गरिएको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताउनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले विगत पाँच बर्षदेखि हरेक बर्ष सफा शहर घोषणा गर्दै आएको छ ।

सफा शहरको प्रतिस्पर्धामा भाग लिन खुला दिसामुक्त घोषणा भएकै हुनुपर्ने न्यूनतम आधार तोकिएको थियो । 

सबै मेयरले भने अर्को बर्ष पहिलो भएरै छाड्छौं

उत्कृष्ट सफा शहर हुन सफल धनकुटा नगरपालिकाका प्रमुख सहित तीनै नगरपालिकाका प्रमुखले अर्को बर्ष आफ्नो नगरलाई उत्कृष्ट सफा शहरको पहिचान दिलाउने प्रतिबद्धता जनाएका छन् ।

सफा शहरको प्रतिस्पर्धामा दोस्रो भएका इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मन्त्रालयले गरेको यो कामबाट फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्ने प्रेरणा र हौसला मिलेको बताउनुभयो ।

उहाँले सीमित स्रोत साधनले नगरपालिकामा फोहोरमैला व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गएको र फोहोरमैला व्यवस्थापनमा इलाम नगरपालिकाले कम्पोष्ट मल प्लान्ट परिक्षण उत्पादन गर्न शुरु गरेको बताउनुभयो । उहाँले अगामी दिनमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा इलामबाट पाठ सिक्न सकिने गरी काम गरिरहेको बताउनुभयो ।

‘सबै नगरबासीको सहयोगबाट हामीले लगातार पुरस्कार पाइरहेका छौं, अब हामीसँग पहिलो हुनेलाई दोस्रो बनाउने हामी कसरी पहिलो बन्ने भन्ने चुनौती सिर्जना भएको छ, अर्को बर्ष उत्कृष्ट सफा शहर भएरै छाड्छौं’ उहाँले भन्नुभयो ।

खुट्टाले दौड ग-यो, छातीले तक्मा पहिरियो -नगर प्रमुख तामाङ

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले कर्मचारीले गर्दा पाएको पुरस्कार आफूले ग्रहण गर्नुपरेकोमा असजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरस्कार थाप्न पनि असजिलो महसुस भइरहेको छ, खुट्टाले दौड जित्यो, तक्मा छातीमा पहि-यायौं भनेजस्तै भयो’

मन्तव्य व्यक्त गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ 

पहिले पनि पुरस्कृत भएको नगरपालिका भएको भन्दै उहाँले आगामी बर्षमा पनि पहिलो पंक्तिमै रहने दाबी गर्नुभयो ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भने फोहोर व्यवस्थापन र हरियाली प्रबद्र्धनमा आफ्नो नगरपालिकाबाट धेरै सिकेको स्मरण गर्दै यसपटक तृतीय भएकोमा खिन्नता व्यक्त गर्नुभयो । ‘हामी प्रथम भइसकेको उपमहानगरपालिका तेस्रो हुनुमा केन्द्र सरकारको पनि दोष छ, हामीलाई यहाँ केन्द्र सरकारले नै पु-याएको हो, ५०/६० वटा घर भत्काइदिएको छ, अब के गर्ने ? यसले पनि शहरको शोभा घटायो, नम्बर कमी आयो ।’

मन्तव्य प्रस्तुत गर्दै हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगरपालिकामा धनकुटा नगरपालिका उत्कृष्ट भएपनि महानगरपालिका र उपमहानगरपालिका मध्येमा हेटौडा नै प्रथम भएको भन्दै सान्त्वना प्रदान गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारले भने फोहोर व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गरेर पुरस्कार पाउन सफल नगरप्रमुखहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि साख जोगाइराख्न आग्रह गर्नुभयो । ‘मेरो शहर उत्कृष्ट सफा शहर भनेर नाक फुलाएर बसेमा भोलि तपाईलाई सानो नगरपालिकाले उछिन्नेछ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार