इलाम : इलाममा फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ । इलामको विभिन्न स्थानबाट संकलित फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले विनरक इन्टरनेसनलको सहकार्यमा फोहोरबाट प्राङगारिक मल बनाउने मेसिनको सफल परीक्षण गरेको हो ।
प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार हुने विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूलले बताउनुभयो । मेसिनमा क्यूरिम सिस्टम, अर्गानिष्ट वेष्ट कम्पोस्टर, कम्पोस्ट सिडर लगायतका भाग छन् ।
क्यूरिम सिस्टमबाट फोहोर राख्ने, वेष्ट कम्पोस्टरबाट फाहोरलाई टुक्र्याउने, डबल सिडरले सानो बनाएर मलमा परिणत गर्ने फोहोरमैला व्यवस्थापन अधिकृत ललिता दाहालले जानकारी दिनुभयो ।
दैनिक आठ सय किलो सम्म फोहोर प्रशोधन गर्न सकिने
प्राङगारिक मल बनाउन जडित मेसिनमा दैनिक सात सय देखि आठसय किलो सम्म फोहोर पेल्न सकिने विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूलले जानकारी दिनुभयो । मल बनाउन ८० प्रतिशत घर तथा अन्य स्थानबाट निकालिएको फोहोर र बाँकी सुख्खा चीज आवश्यक पर्ने उहाँले बताउनुभयो । योल्मूलका अनुसार सड्ने र नसड्ने दुवै किसिमको फोहोरबाट प्राङ्गारिक मल बनाइन्छ ।
नगरपालिकाबाट संकलित फोहोरलाई अबदेखि हरेक मङ्गलबार र शुक्रबार मेसिनले प्रशोधन गर्नेछ । नगर क्षेत्रमा फोहोरमैला अव्यवस्थित हुँदा प्रदूषण बढ्ने भएकाले फोहोरमैला व्यवस्थापनको नयाँ कार्यक्रम शुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताउनुभयो ।
इलाम नगरपालिका कार्यालयको रू ३९ लाख ३५ हजारको लागतमा कम्पोष्ट प्लान्टका लागि भवन, कामदार बस्ने घर, शौचालय, जग्गाको घेराबार गर्ने लगायत काम भइरहेको
कार्यकारी अधिकृत खाम्याहाङले जानकारी दिनुभयो । इलाम बर्ष २०७३ को सफा शहर मध्ये दोस्रो शहर बन्न सफल नगरपालिका हो ।