इटहरी : इटहरी उपमहानगरपालिका–४, ९ र १० मा दुर्गन्ध फैलिएको छ । बाढीले ठूलो संख्यामा पशुपंक्षी समेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा दुर्गन्ध फैलिएको हो ।
सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्था लगायतले पुरिएका र भत्किँएका घरको उत्खनन गरिरहेका छन् ।
इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुर समेत बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
बाढीग्रस्त क्षेत्रमा पिउने पानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् ।