बाढी प्रभावितका लागि गणेशमान प्रतिष्ठानद्वारा १५ हजार प्याकेट जीवनजल पठाइयो

काठमाडौ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा १५ हजार प्याकेट जीवनजल पठाएको छ ।

प्रतिष्ठानले पहाडी तथा तराई जिल्लाका प्रभावितलाई झाडापखालाको संक्रमणबाट बचाउन विभिन्न संघ संस्थाबाट ३० हजार प्याकेट जीवनजल खरीद गरेकोमा त्यसमध्येबाट ५० प्रतिशत बाँके, बर्दीया, सुनसरी, धनुषा लगायत जिल्लामा पठाउन शुरु गरेको हो ।

स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी ती जीवनजल आवश्यक परेका प्रभावितलाई वितरण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले प्राकृतिक प्रकोपबाट प्रभावितलाई ठूलो परिणाममा राहतको खाँचो औँल्याउँदै प्रभावितलाई सन्तुलित ढङ्गले राहत वितरण गर्न एकद्धार प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

उहाँले एकद्वार प्रणालीको अपव्याख्याका कारण स्वदेश तथा विदेशका दातृ संघसंस्थामा राहत सङ्कलनमा नकारात्मक सन्देश जानसक्ने हुँदा सञ्चार माध्यमले सो प्रणालीका विषयमा  सही व्याख्या, विश्लेषण गर्न माग गर्नुभयो ।

प्रतिष्ठानले सरकारको सम्बन्धित निकायलाई राहत सङ्कलनमा उत्साहको कमी आउन नदिनेतर्फ चनाखो भई सर्वसाधारणमा रहेको भ्रम हटाउन आग्रह पनि गरेको छ । प्रतिष्ठानको आग्रहमा नेपाल औषधि लिमिटेडले रु ९ पर्ने जीवनजल मोरङसम्म ढुवानी गरी रु ६.८० मा नै उपलव्ध गराउने समझदारी भएको छ ।

मुलुकका विभिन्न भागमा आएको प्राकृतिक प्रकोपबाट हालसम्म करिब १३५ को मृत्यु तथा ३० वेपत्ता र ४१ घाइते भएको गृह मन्त्रालयको अभिलेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार