झाडापखालाबाट सिरहा र कपिलवस्तुमा गरी २ जनाको ज्यान गयो

काठमाडौ : सिरहाको औरही नगपालिका ५ औरहीमा फैलिएको झाडापखालाले एक जनाको ज्यान गएको छ भने ७८ जना विरामी परेका छन् ।

यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा फैलिएको झाडापखालाले महाराजगञ्ज ७ सत्भराका चैतराम रैदासका ८ वर्षीय छोरा तारेख रैदासको ज्यान गएको छ । झाडापखालाले सत्भरा र गघौडी गाउँका ५० जना भन्दा बढी प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताउनुभयो ।

गाउँमा दुषित पानीको माछा खाएको, दुषित पानी पिएको र अन्य सरसफाइ अभावले झाडापखाला फैलिएको पाइएको जनस्वास्थ्य अधिकृत जयसवालले बताउनुभयो ।

झाडापखालाबाट प्रभावित सामान्य अवस्थाका विरामीलाई गाउँमै पुगेको स्वास्थ्यकर्मीले टोलीले उपचार गरिरहेको छ भने जटिल विरामीको बहादुरगञ्ज अस्पतालमा उपचार भइहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखालाले बालकको ज्यान लिएपछि कुशहवा हेल्थपोष्ट, महाराजगंज अस्पताल र शिवराज अस्पताल बहादुरगञ्जबाट स्वास्थ्यकर्मीको टोली खटिएको छ । झाडापखाला सँगै कतिपय विरामीमा बान्ता हुने समस्या समेत देखिएको शिवराज अस्पतालका कार्यवाहक मेडिकल सुपरिडेन्टेण्ड डा. राहुल झाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार