बाढी र डुबानले बाराको सरसफाइ ३५ प्रतिशतमा झ-यो

बारा : अरु जिल्लाको तुलनामा सरसफाइमा यसैपनि पछि परेको बारा जिल्ला बाढी र डुबानले झनै पछाडि धकेलिएको छ । डुबान प्रभावित क्षेत्रमा घरसँगै शौचालयमा पनि क्षति पुगेकाले बाराको सरसफाइमा ठूलो क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी तथा डुबान प्रभावित क्षेत्रमा रहेका २ हजार २ सय ४४ घर मध्ये १ हजार ३७ घर पूर्ण रुपमा र ६ सय ५० घर आंशिक रुपमा भत्किएका छन् । ‘घर भत्किंदा शौचालय पनि भत्किए बल्लतल्ल यो उचाईमा ल्याइपु-याएका थियौं, अब हामीलाई पुरानै अवस्थामा पु-याएर अघि बढ्न निक्कै चुनौती छ’ डिभिजन प्रमुख श्रेष्ठले भन्नुभयो ।

बाढीले सिम्रौनगढ नगरपालिकाको कचोर्वा, आदर्श कोतवाल गाउँपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाको वेहरा टोल, नितनपुर टोलका घर र शौचालयमा क्षति पुगेको छ ।


उहाँका अनुसार बाढी तथा डुबान अघि ६५ प्रतिशत पुगेको बाराको सरसफाइ झण्डै ३५ प्रतिशतमा झरेको छ । ‘सरसफाइमा झण्डै ३० प्रतिशत क्षति भएको अनुमान गरिएको छ, अझै विवरण संकलन गर्ने काम भइरहेकाले अझ बढी नै क्षति पनि भएको हुनसक्छ’ श्रेष्ठले भन्नुभयो ।

कतिपयको शौचालय प्रयोग गर्न नपाई बाढीले बगाएपछि उपभोक्ता पनि निराश भएका छन् । उनीहरुले जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा क्षतिपूर्तिका माग गर्न थालेका छन् ।

बाढी र डुबानले खानेपानी र सरसफाइमा पुगेको जिल्लागत क्षतिको यथार्थ विवरण अझै आउन बाँकी छ । क्षतिको विवरण संकलनको काम भइरहेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार