काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले बर्षेणी प्रदान गर्दै आएको फेडवासन वास पत्रकारिता पुरस्कार यसबर्ष नेपाल टेलिभिजनकी नीता सापकोटा, राइजिङ नेपालका पुरुषोत्तम खत्री र कृषि रेडियो धादिङका राजाराम डंगोललाई प्रदान गरिएको छ ।
महासंघले हरेक बर्ष स्थापना दिवसको अवसरमा पत्रकारिताको माध्यमबाट खानेपानी र सरसफाइमा योगदान पु-याउने श्रव्यदृश्य, छापा र रेडियोका एक एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कृत तीनै जना पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले प्रमाणपत्र, नगद र फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
फेडवासन वास पत्रकारिता पुरस्कार प्राप्त गरेपछि नेपाल टेलिभिजनकी नीता सापकोटाले आफूलाई यो पुरस्कारले खानेपानी तथा सरसफाइक्षेत्रको विषयवस्तु समेट्न अझ बढी जिम्मेवार बनाएको बताउनुभयो । अर्का पुरस्कृत राइजिङ नेपालका पुरुषोत्तम खत्रीले आफूले यस क्षेत्रमा कलम चलाइरहेकाले पुरस्कार जित्न सम्भव भएको र पुरस्कृत हुन योग्य सम्झेकोमा फेडवासनलाई धन्यबाद दिनुभयो । उहाँले आउँदो दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
कृषि रेडियो धादिङबाट पुरस्कृत भएका राजाराम डंगोलले भने मोफसलका पत्रकारलाई राजधानीले सम्झेकोमा खुसी हुदै आउँदो दिनमा पनि खानेपानी, सरसफाइ र स्वच्छताकै क्षेत्रमा कलम चलाउने बताउनुभयो ।