खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ १५ औं बर्षमा प्रवेश

काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ताहरुको छाता संगठन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ आज देखि १४ बर्ष पूरा गरी १५ औं बर्षमा प्रवेश गरेको छ । महासंघले १५ औं बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ ।

महासंघले खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी सरकारका नीति तथा कार्यक्रमहरुको पैरवी गर्ने, उपभोक्तामैत्री नीति निर्माणका लागि सरकारलाई खबरदारी गर्ने र खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

महासंघको स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्यालले राज्य पुनःसंरचनाका क्रममा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्य मन्त्रालयसँग गाभिदा मन्त्रालयको नाम नरहने तर्फ सचेत गराउँदै मन्त्रालयहरु एक आपसमा गाभिदा पनि खानेपानी तथा सरसफाइको नाम कतै न कतै उल्लेख हुनुपर्ने  सुझाव दिनुभयो ।

उहाँले महासंघको १४ बर्षे यात्रामा साथ र सहयोग गर्ने दातृ निकाय, सरकारी तथा गैरसरकारी संघसंस्थालाई धन्यबाद व्यक्त गर्नुभयो ।  

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस समारोहमा सांसद ज्ञानु गैरे, पूर्वमन्त्री आनन्द पोख्रेल, खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी, खानेपानी तथा सरसफाइ मन्त्रालयका पदाधिकारीहरु, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट सहित अन्य कर्मचारी उपस्थित हुनुहुन्थ्यो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार