जनसेवा माध्यमिक विद्यालयले ग-यो, सरसफाइ सम्मेलन

काठमाडौ : काठमाडौको कीर्तिपुरमा रहेको जनसेवा उच्च माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालय सरसफाइ सम्मेलन गरेको हो ।

सम्मेलनमा विद्यालयले सात झण्डे पूर्ण सरसफाइ कार्यक्रमको प्रगतिका विषयमा जानकारी गराइएको थियो । जनसेवा माविले शिक्षक शिक्षिकालाई फोकल पर्सन तथा हरेक झण्डाको क्याप्टेन तथा उप क्याप्टेन खटाई सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

तेस्रो झण्डाको प्रगति सबैभन्दा उत्कृष्ट

सात झण्डा मध्ये तेस्रो झण्डा अर्थात रातो झण्डाको प्रगति सबैभन्दा उत्कृष्ट रहेको छ । तेस्रो झण्डाले ७९ प्रतिशत प्रगति हासिल गरेको विद्यालयका शिक्षक देव राज महर्जनले जानकारी दिनुभयो । तेस्रो झण्डाको रुपमा विद्यालयले महिनावारी र स्वच्छता सम्बन्धी धारणालाई लिएको छ ।

तेस्रो झण्डाकी क्याप्टेन कृतिका ढकालले तेस्रो झण्डाले महिनावारी स्वच्छतामा ध्यान दिन, सुरक्षित प्याडको प्रयोग गर्न र महिनावारी भएको समयमा पनि विद्यालयमा नियमित आउन प्रेरित गर्दै आएको, सेनेटरी प्याडको प्रयोग गर्ने र प्रयोग गरेपछि विसर्जन गर्ने विधिका विषयमा समेत विद्यालयमा अध्ययनरत छात्राहरुलाई आग्रह गर्दै आएको बताउनुभयो ।

सातौं झण्डा दोस्रोमा

सात झण्डा मध्ये सातौं झण्डाले सफा वातावरणलाई जनाउँछ । यो झण्डाको प्रगति ७१ प्रतिशत रहेको छ । जनसेवा उच्च माध्यमिक विद्यालयको वातावरण सफा रहेको र सफा वातावरण बनाउन आवश्यकीय स्रोत साधन विद्यालयमा रहेको सातौं झण्डाकी क्याप्टेन विजया भण्डारीले बताउनुभयो ।

‘हाम्रो विद्यालयमा पर्याप्त डस्टबिनको व्यवस्था छ, जैविक र अजैविक फोहोर फाल्नका लागि छुट्टाछुट्टै भाँडाको व्यवस्था गरिएको छ । त्यसकारण विद्यालयको वातवरण स्वच्छ छ हामी यसलाई अझ थप उचाईमा पु-याउँछौं’ भण्डारीले भन्नुभयो ।

चौथो झण्डाको प्रगति पनि राम्रो

चौथो झण्डाले खानेपानी तथा सरसफाइमा समानतालाई जनाउँछ । जनसेवा उच्च माध्यमिक विद्यालयमा यसको स्थिति ६५ प्रतिशत रहेको छ । जनसेवा माध्यमिक विद्यालयमा खानेपानी र सरसफाइ सबैका लागि समान रहेको चौथो झण्डाकी क्याप्टेन सुजता शाहले बताउनुभयो । पानी र सरसफाइ उपभोगका लागि विद्यालयमा धार्मिक, लैंगिक, तथा जातिय कुनै पनि हिसाबले विभेद नरहेको र अपाङ्गता भएका व्यक्तिको समेत पहुँच रहेको उहाँले बताउनुभयो ।

विद्यालयले पहिलो झण्डामा चर्पीको प्रयोगलाई राखेको छ, जसको प्रगति ५२ प्रतिशत छ, यस्तै दोस्रो हात धुने र व्यक्तिगत सरसफाइ, पाँचौं झण्डामा सुरक्षित पानी, छैटौंमा सुरक्षित खानालाई राखिएको छ ।

ती झण्डाको प्रगति क्रमशः ५२ प्रतिशत, ५७ प्रतिशत र ५२ प्रतिशत र ५१ प्रतिशत रहेको छ ।

विद्यालयको प्रथम सरसफाइ सम्मेलनका अवसरमा विद्यार्थीहरुले ‘सरसफाइ’ नामक नाटक समेत प्रदर्शन गरेका थिए ।

के हो सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम ?

विद्यालय मार्फत स्वच्छता अभियानलाई अझ प्रभावकारी रूपले अघि बढाउन पूर्ण सरसफाइ अभियानको प्रवद्र्वनका लागि सात झण्डे पद्धति तर्जुमा गरिएको हो । विश्व स्वास्थ्य संगठन नेपाल च्याप्टरद्वारा तयार पारिएको यो अवधारणाले खानेपानी तथा सरसफाइ सम्बन्धी दिगो विकासको लक्ष्य प्राप्तिका लागि बढी ध्यान केन्द्रित गरेको छ ।

यस अवधारणा अन्तर्गत सात वटा मुख्य सूचक र प्रत्येक सूचकका पाँच—पाँच वटा सहायक सूचक रहेका छन् । यी सबै सूचकहरू पूरा गर्ने विद्यालयलाई पूर्ण सरसफाइ सम्बन्धी सात झण्डे पद्धति अपनाएको विद्यालय घोषणा गरिने भएको छ ।

विद्यालयमा सिकेका कुराहरूलाई घर –घरमा पु-याएर अभिभावकलाई समेत त्यसको अवलम्बन गराउन सक्ने विशेषतालाई मध्यनजर गरेर यो पद्धतिको तर्जुमा गरिएको हो । यस पद्धति अन्तर्गत निम्न सूचकहरूको निर्धारण गरिएको छ ।

  •  प्रत्येक बालबालिकाले चर्पी प्रयोग गरिसकेपछि र खाना खानु अघि दुवै हात साबुन पानीले उचित तरिकाले धोएको हुनु पर्ने ।
  •  प्रत्येक बालबालिकाले सफा चर्पी प्रयोग गरेको हुनुपर्ने ।
  • प्रत्येक बालबालिका विद्यालयद्वारा आपूर्ति गरिएको सुरक्षित पानी पिउन सक्षम भएको हुनुपर्ने ।
  •  विद्यालयमा महिनावारी भएको समयमा स्वच्छता र सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनुपर्ने ।
  •  प्रत्येक विद्यालयमा सम्पूर्ण छात्रछात्राका लागि, उनीहरूको शारीरिक र सामाजिक अवस्था जे जस्तो भए पनि समान रूपमा खानेपानी तथा सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनुपर्ने ।
  •  प्रत्येक बालबालिकाले स्वच्छ र सुरक्षित खानेकुरा पाएको हुनुपर्ने ।
  •  विद्यालयको समग्र वातावरण स्वच्छ भएको हुनु पर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार