दाङ : तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कको अव्यवस्थित वधशालाले बस्ती नै दुर्गन्धित भएको छ । वधशालामा वध गरिएका राँगा, बंगुरको हड्डी, छाला र लादीको व्यवस्थापन नहुँदा बधशाला आसपासको वातावरण दुषित बन्दै गएको छ ।
राँगाको छाला कुहाउन प्रयोग गरिएको नुनले कुवाको पानी समेत नुनिलो हुन थालेको तुलसीपुर उपमहानगरपालिका–५ की कमलाकुमारी खत्रीले बताउनुभयो ।
वधशालामा मासुको व्यापार गर्ने व्यवसायीको लापरवाहीले मानव स्वास्थ्य जोखिममा परेको छ । व्यवसायीले वध गरिएका पशुको मलमूत्र, लादी र हड्डी जथाभावी फ्याँकेका छन् । छाला खाल्डोमा थुपार्ने गरेका छन् भने हड्डी ठाउँठाउँमा जम्मा गरेका छन् । जसका कारण वातावरण अत्यन्तै प्रदुषित बन्दै गएको छ ।
‘हामी बूढाबूढी दुर्गन्धले बिरामी भइरहन्छौं । औषधि पनि गरिरहेका छौं, बिक्ने भए त योे घर नै बेचर अन्यत्रै जान्थ्यौं’ वधशाला पछाडि घर भएकी कमलाकुमारी खत्रीले भन्नुभयो ।
हड्डी एकै ठाउँ थुपार्दा झनै दुर्गन्ध
व्यापारीले एकदेखि डेढ महिना सम्मको हड्डी जम्मा गरेर बेच्ने गरेका छन् । हड्डी एकै ठाउँमा थुपारेर राख्दा झनै दुर्गन्ध बढेको हो । कुकुरले छरपष्ट पार्ने हुँदा पनि आसपासको वातावरण अति प्रदुषित बन्दै गएको छ । कुखुराको दानामा हड्डी प्रयोग हुने भएकाले किलोको पाँच रुपैयाँमा विक्री हुने गरेको छ । दुर्गन्धले सरुवा रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
पशु वधशालाबाट निस्केको फोहोर समयमै व्यवस्थापन गर्न नसके गम्भीर प्रकृतिका रोग लाग्न सक्ने डाक्टर लिजन महर्जनले बताउनुभयो । ‘फोहोरका कारण वातावरण प्रदुषण हुँदा हावाबाट सरुवा रोग फैलिने सम्भावना हुन्छ’ डाक्टरले महर्जनले बताउनुभयो ।
‘पशु वधशालासँगै ठूलो मानववस्ती छ,’ डाक्टर महर्जनले भन्नुभयो ‘बाक्लो बस्ती भएकाले फोहोरमा बसेका झिंगा भान्छा तथा खाना सम्म पुग्ने र त्यसले डर लाग्दा सरुवा रोग लाग्न सक्छ, अस्थायी रूपमा बच्नका लागि फोहोर भएको ठाउँमा विषादी छर्किने, खाना राम्रो गरी छोपेर राख्ने र मास्क लगाएर हिड्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
तुलसीपुर उपमहानगरपालिकाले भने फोहोरमैला गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । तुल्सीपुर उपमहानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियानलाई बाधा पुग्ने क्रियाकलाप भए तुरुन्त कारबाही गरिनेछ’ नगर प्रमुख घनश्याम पाण्डेले भन्नुभयो ।
नगर प्रमुख पाण्डेले भन्नुभयो ‘जसले फोहोर गर्छ, त्यसैले सफा गर्नुपर्छ, पहिलो चरणमा सचेत गराइनेछ, त्यसपछि पनि अटेर गरेमा वातावरण तथा फोहोरमैला व्यवस्थापन ऐन बमोजिम कारबाही गरिनेछ ।’