काठमाडौ : काठमाडौ उपत्यकाका नदी र चक्रपथ सफाइबाट संकलित फोहोर नदी किनार र सडकमै थुपारिएको छ । नुवाकोटको सिसडोलका बासिन्दाले काठमाडौको फोहोर व्यवस्थापन गर्न नदिएपछि वाग्मती सफाइ महाअभियान लगायत अन्य नदी र चक्रपथ सफाइ गरी संकलन गरिएको फोहोर नदी किनार र सडकमा थुपारिएको हो ।
वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुल आसपास सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारिएको छ ।
यस्तै पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरी माथिको वाग्मती सफाइको १८७ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर संकलन गरिएको छ ।
रुद्रमती सफाइको १८५ औँ हप्तामा रातोपुलदेखि गौशालासम्म जनचेतनामूलक कार्यक्रम गरी सफाइ गरिएको छ ।
विष्णुमती सफाइको १५७ औँ हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सहित सफाइ गरिएको छ ।
यस्तै चक्रपथ सफाइको २२ औँ हप्तामा बसुन्धरा–गोंगबु नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरिएको छ । चक्रपथ सफाइबाट संकलित आठ मेट्रिक टन फोहोर पनि सिसडोल ल्याण्डफिल साइटमा भएको अवरोध कारण सडकमै थुपारिएको छ ।
यसैगरी चक्रपथको सीतापाइला बाफल क्षेत्रमा तेस्रो हप्ताको सफाइ गरिएको छ ।
आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२ औँ हप्ताको सरसफाइबाट मीनभवन क्षेत्रबाट एक मेट्रिक टन फोहोर संकलन गरिएको छ ।
मनोहरा नदी सफाइको दोस्रो हप्तामा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले समेत सहभागिता जनाउनुभएको छ । उहाँले नदी संरक्षण विधेयक पारित गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा लगायत सहभागी हुनुहुन्थ्यो । यस्तै शालि नदीदेखि वाग्मती दोभानसम्मको सफाइ ५२ हप्तामा सकिने प्रतिबद्धता जनाइएको छ । आजको सफाइबाट चार मेट्रिक टन फोहोर संकलन गरिएको छ ।
इन्द्रमती सफाइ अभियानको दोस्रो हप्तामा आज बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइमा ३ सय अभियानकर्मीले सहभागिता जनाएका थिए ।
गत हप्तादेखि रातीको समयमा सफाइ गरिँदै आएको पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने वाग्मती सफाइ महाअभियानले जनाएको छ ।


825 पटक हेरिएको 

