सिन्धुली : सिन्धुलीको भद्रकाली गाविस – ५, का बासिन्दालाई यत्तिबेला झरी परोस् कि घाम लागोस्, वस्तुभाउ भोकाओस् वा तिर्खाओस् या त बालीनाली लगाउने समय नै किन नघर्कियोस्, कुनै मतलब छैन ।
उनीहरुलाई मतलब छ त कसरी घरघरमै धारा पु-याएर सुरक्षित पानी सेवन गर्ने ? त्यसैले खट्टारका बासिन्दा दिनरात नभनी खानेपानी योजना सम्पन्न गर्न लागि परेका छन् । त्यो पनि श्रमदानकै भरमा ।
दीगो खानेपानी मुहानको अभावमा खानेपानीको अभाव व्यहोर्दै आएका उनीहरु अहिले ‘एक घर एक धारा’ बनाउन तल्लीन भएका हुन् ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र ग्रामीण विकास समाज सिन्धुलीको सक्रियतामा खट्टार खानेपानी तथा सरसफाइ योजना निर्मा गर्न स्थानीय बासिन्दालाई अहिले भ्याइ नभ्याई छ ।
खट्टारका बासिन्दा बिहान बेलुका घरधन्दा गरेपनि दिउँसो भर खानेपानीको योजना निर्माणको काममा तल्लीन हुन्छन् । गाउँलेहरु पाइप लाइन खन्ने, पुर्ने, स्थानीय सामग्री संकलन गर्ने, बाहिरी सामानहरु सिमेन्ट रड जस्ता सामानहरु निर्माण स्थलसम्म पु-याउन व्यस्त छन् ।
घरमा धारा बनेपछि आफ्नै धाराको पानी पिउन पाउने आशाले आफूहरुलाई उत्साहित बनाएको खट्टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य संगीता बम्जनले बताउनुभयो ।
महाभारतको काखमा रहेर विगतमा खानेपानीको समस्या हुँदा आफूहरुलाई खानेपानीको जोहो गर्न हिउँद होस वा बर्षा सधैँ समस्या थियो, नेपाल सरकारले ‘एकघर एक पानीको धारा’ बनाइदिने रेडियोमा सुनेका थियौँ, उहाँले भन्नुभयो, ‘अब त आफ्नै घरमा धाराबाट पानी पिउने दिन आएको छ ।’
गर्मीयाममा काकाकुल जस्तै बन्ने गरेको गाउँले अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म श्रमदान गरिरहेको दिलबहादुर गोलेले बताउनुभयो ।
खानेपानी योजना सम्पन्न गर्न पुरुष सरह महिला पनि श्रमदानमा लागि परेको उहाँले बताउनुभयो । खानेपानी योजना सम्पन्न गराउन बालुवा बोक्ने, ढुंगा बोक्ने, गिट्टी बोक्ने, सिमेन्ट र अन्य आवश्यक सामान बोक्न पनि महिला सक्रिय छन् ।
खानेपानी योजनाको सुरुवाती चरणदेखि नै स्थानीयले राम्रो साथ दिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गोलेले बताउनुभयो । समुदायका व्यक्ति पानीको समस्यामा रहेको र पानीको मुहान बनाई घरघरमा धारा बनाउने संस्था गाउँमा आएको सुन्ने बित्तिकै स्थानीय खानेपानीको योजना चाँडै सम्पन्न गराउने योजनामा रहेको उहाँले बताउनुभयो ।
अहिलेसम्म दुई हजार ४ सय मिटर खानेपानीको पाइपलाई तीन फिट गहिराइमा पुर्ने कार्य सम्पन्न भएको छ । अब वर्षात पनि कम हुँदै गएकाले मुहान र पानी पोखरीको काम गर्ने गोलेले बताउनुभयो ।
महाभारतका डाँडा छिचोलेर भिरपाखामा पाइप लाइन पुर्नुपर्ने भएकाले स्थानीय जोखिम मोलेरै भएपनि श्रमदानमा जुटेको वास टेक्निसियन राजनप्रसाद काफ्लेले बताउनुभयो । वर्षायाममा पहिरोले पाइप चुडाउने डर, सुक्खा समयमा डढेलोले पाइपलाई क्षति पु-याउने भएकाले स्थानीयबासी उत्साहका साथ पाइपलाइन पुर्न लागिपरेका छन् ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म घरायसी कामलाई थाती राखी योजना चाँडै सम्पन्न गर्नु उनीहरुको लक्ष्य रहेको उहाँको भनाइ छ । पहाडी क्षेत्रमा धेरैतिर फैलिएको बस्तीलाई सातवटा खानेपानीको मुहानबाट पानी ल्याउने काम भइरहेको छ । विकट क्षेत्र भएकाले निर्माण सामग्री ढुवानीमा समस्या भएकाल उपभोक्ताको प्रयासमा नै अहिलेसम्म निर्माण सामग्रीको ढुवानी हुँदै आएको छ ।
खट्टार खानेपानी आयोजना ५६ लाख २६ हजार ६ सय ५१ को लागतमा सम्पन्न हुने वास अफिसर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । मंसिर महिनासम्ममा आयोजना सम्पन्न गरी त्यस क्षेत्रका ८१ घर परिवारलाई घर घरमा पानी पु-याइने लक्ष्यका साथ काम भैरहेको उहाँले जानकारी दिनुभयो ।
आयोजना सम्पन्न भएपछि ५ सय १७ जना प्रत्यक्ष लाभान्वित हुनेछन् । उहाँका अनुसार एक विद्यालय र एक बौद्ध मन्दिरलाई पनि खानेपानीको धारा जडान गरिनेछ ।


842 पटक हेरिएको 

