जनकपुर : जनकपुर उपमहानगरपालिकाको अधिकांश उम्मेदवारको एउटै एजेन्डा छ सरसफाइ । यसका अतिरिक्त क्षेत्रीय विमानस्थल, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने, सडक, नालाको विकास जस्ता नाराले मतदाताको मन जित्ने प्रयास भइरहेको छ । ‘उम्मेदवारहरूको सामूहिक प्रतिबद्धता’ विषयक अन्तरक्रियामा सहभागी मेयर पदका प्रत्याशीमध्ये अधिकांशले सफाइ व्यवस्थापनलाई मुख्य प्राथमिकता दिने बताए ।
कांग्रेसका उम्मेदवार मनोजकुमार साहले जनकपुर फोहरी सहरका रूपमा बदनाम भएको स्वीकार गर्दै आफ्नो मुख्य ध्यान सफाइ माथि केन्द्रित रहने बताए । क्षेत्रीय विमानस्थल तथा जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
राजपाका प्रत्याशी लालकिशोर साहले जनकपुरको भौतिक विकास सँगै संविधान संशोधन मार्फत मधेसका माग सम्बोधन गराउन पहल गर्ने बताएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
फोरम लोकतान्त्रिकका उम्मेदवार हंसराज साहले सरसफाइ जनकपुरको प्रमुख समस्या भएको उल्लेख गर्दै उपमहानगरपालिकाका २५ वटै वडालाई सफा तथा पर्यावरणमैत्री बनाउने दाबी गरे । स्वतन्त्र प्रत्याशी सञ्जय ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीतादेवी साहलगायत अन्य दल तथा स्वतन्त्र मेयर पदका प्रत्याशीहरूले पनि नगरको प्रमुख समस्या सफाइ रहेको औंल्याएका थिए ।