पानी लिन गएकी भाउजुको ज्यान गयो, नन्द भइन् घाइते

दार्चुला : पानी लिन गएका नन्द भाउजु अबेर भइसक्दा पनि घर फर्केर नआएपछि घरमा खैलाबैला मच्चियो । कतै केही भयो कि भनेर अड्कल पनि काटे । किनकि हरेक बर्ष न्वाला खोलामा पानी लिन जाने क्रममा केही न केही घटना भएकै हुन्थ्यो । घर परिवारले गरेको अनुमान सत्य साबित भइदियो र खबर आयो पानी लिन गएकी भाउजुको ज्यान गयो नन्द गम्भीर घाइते भइन् ।

घटना आज विहान दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मलबाबमा भएको हो । मलबाबकी २० बर्षीया लक्ष्मी धामीको भीरबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार मृतक लक्ष्मीकी नन्द १८ वर्ष दीपा धामी गम्भीर घाईते भएकी छिन् ।  घाईतेको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि बाँकेको कोहलपुर रिफर गरिएको छ ।  

मालिकार्जुनमा खानेपानीको अभावमा खोलामा पानी लिन जाँदा हरेक बर्ष कोही न कोही ज्यान गुमाउदै आएको मालिकार्जुनका अर्जुन धामीले बताउनुभयो । ‘बिहान पानी लिन गएकाहरु घर फर्केर आउने हो कि होइन टुङ्गो हुदैन’ उहाँले भन्नुभयो ।  


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार