नुवाकोट : तोकिएको भन्दा कम गुणस्तरको पाइप विछ्याउन लागेको भन्दै नुवाकोटको विदुर नगरपालिका पिपलटारका उपभोक्ताले खानेपानीको पाइप विछ्याउन रोक लगाएका छन् । निर्माणाधीन तेस्रो साना शहरी खानेपानी आयोजनाले १० किलो प्रेसरको पाइप जडान गर्नुपर्नेमा ६ किलो प्रेसरको मात्र जडान गरेको र कम गहिराइको खाल्डो खनेर विछ्याइएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम गर्न नदिएका हुन् ।
तुँदी कन्स्ट्रक्सन प्रालिले विदुर नगरपालिका ६ पिपलटारमा पाइप विछ्याउने काम गरिरहेको छ ।
‘ठेकेदारले कम गुणस्तरको पाइप विछ्याउँदा समेत खानेपानी आयोजनाले कुनै चासो दिएको देखिदैन, कम गुणस्तरको पाइप हालेर उपभोक्ताको आँखामा छारो हाल्न खोजिएकाले हामीले काम गर्न नदिएका हौं’ पिपलटारका दिपेश श्रेष्ठले भन्नुभयो ।
तेस्रो साना शहरी खानेपानी आयोजनाको कामलाई गुणस्तरीय बनाउन उपभोक्ताले विदुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिलाई समेत आग्रह गरेका छन् ।
।
एसियाली विकास बैंक, नेपाल सरकार र नगर विकास कोषको गरी झण्डै ८१ करोडको लगानीमा खानेपानी आयोजना निर्माण भइरहेको छ । अबको एक बर्ष भित्र आयोजना सम्पन्न गरी घरघरमा स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य छ । आयोजना सम्पन्न भएपछि विदुर नगरपालिकाका ५ हजार ८ सय घर लाभान्वित हुनेछन् ।


808 पटक हेरिएको 

