डोटी : संविधान दिवसको उपलक्ष्यमा डोटीको दिपायल स्थित पिपल्ला बजारको फोहोर बिद्यार्थीले सफाइ गरेका छन् । क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला बजारमा छरिएका फोहोर अमरज्योति बोर्डिङ स्कुलका बिद्यार्थीले आज बिहान सरसफाइ गरेका हुन् ।
‘बजारको फोहोर हटाऊ, सुन्दर र हरभरायुक्त शहर निर्माण गरौ’ भन्दै हात हातमा झाडु बोकेर बजार सफाइमा निस्किएका स्कुले केटा केटीले एकैछिनमा बजार सफाइ गरी सफा पारेका थिए ।
बालबालिका सफाइमा खटे पनि अधिकांश व्यापारी पसल बाहिर ननिस्किएको अमरज्योति बोर्डिङ स्कुलका शिक्षकहरुले गुनासो गरेका छन् । ‘साना नानी बाबुहरु बजारमा सरसफाइ गरिरहँदा पनि आफुले गरेको फोहोर टिप्न व्यापारीहरु आएनन् यो भन्दा दुःखको कुरा के हन सक्छ ?’ एक शिक्षकले गुनासो गर्नुभयो ।
डोटी उद्योग बाणिज्य संघले आयोजना गरेको बजार सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासी तथा सञ्चारकर्मीको सहभागिता थियो । ‘आफुले गरेको फोहोर अरुले सफा गरिदेला भनेर भन्ने होइन, आफैले सफा गर्ने हो’ दिपायल पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताउनु भयो ।
बजार सफाइमा सहभागी नहुने व्यापारीलाई कार्वाही हुन्छ : अध्यक्ष खड्का
आफ्नै संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागी नहुने व्यापारीलाई उद्योग वाणिज्य संघ डोटीले कार्वाही गर्ने जनाएको छ ।
संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बजार सरसफाइ अभियानमा ननिस्कने व्यापारीलाई कार्वाही गरिने बताउनुभयो । ‘फोहोर पनि गर्ने, सफा गर्न पनि उत्साहित नहुनेलाई कार्वाही हुन्छ, व्यापारीले गरेको फोहोर अरुले कहिले सम्म सफा गर्ने ?’ अध्यक्ष खड्काले भन्नुभयो । तर कस्तो प्रकारको कार्वाही भन्ने विषयमा भने उहाँले केही खुलाउनुभएन ।