नुवाकोट : नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाएको पाइएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गेका झण्डै १ सय ५० घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।
‘पुरानो नगरपालिका, व्यवस्थित योजना बिनै बसाएको सहर र जग्गाको अभावमा शौचालयको ढल सीधै त्रिशुलीमा मिसाइदै आएको छ, हामीले दुई चार पटक छलफल पनि चलाईसकेका छौं’ अध्यक्ष तामाङले भन्नुभयो ।
त्रिशुली नदी किनारमा रहेको पुरानो बस्ती भएकाले शुरु देखि नै सेफ्टी ट्याङक नबनाई नदीमा विसर्जन गर्दै आएको उहाँले बताउनुभयो ।
सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने विषयमा छलफल
नदी किनारमा रहेको बस्ती र सीमित जमीनका कारण हरेक घरमा सेफ्टी ट्याङ्क बनाउन असम्भव भएकाले यसको विकल्पमा सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको छ ।
अध्यक्ष तामाङका अनुसार यस विषयमा युनिसेफले समेत चासो देखाएको र सम्बन्धित घरधनीसँग पनि छलफल भइसकेको छ । खुला ढल प्रणालीका कारण सरसफाइ कार्यक्रम समेत प्रभावित भएको छ । ‘हामीले नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्ने भनेका छौं, तर बाधक यो पनि हो ।
दिसा जत्ति खोलामा बगाउने अनि खुला दिसामुक्त नुवाकोट भन्न सुहाउने हो कि होइन ? हामी द्विविधामा परेका छौ, त्यसैले यो समस्या समाधान गरेर मात्र खुला दिसामुक्त घोषणा गर्छौ’ उहाँले भन्नुभयो ।
नुवाकोट कार्यरत वास एजेन्सीहरुले नुवाकोटलाई असोज महिनाभित्रै खुला दिसामुक्त घोषणा योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् ।