नगरपालिकाद्वारा फोहोरमैला सफाइमा विभेद

बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाले फोहोरमैला शुल्कमा पनि नगरबासीलाई विभेद गर्दै आएको छ । नगरभित्रकै बासिन्दाको घरको फोहोर नउठाए पनि नगरबासी बर्षेनी फोहोरमैला शुल्क बुझाउन बाध्य छन् ।

वर्षमा एकै दिन फोहोर नउठाएपनि वार्षिक घरजग्गा कर बुझाउने बेला नगरपालिकाले अनिवार्य फोहोरमैला शुल्क लिने गरेको स्थानियबासिन्दा बताउँछन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको आसपास, पुरानो बजार र राधाकृष्ण चोक बाहेक अरु ठाउँमा सरसफाइ कर्मचारी कहिल्यै नआएको गुलरिया ४ का राजु गोडियाले बताउनुभयो ।

फोहोरमैला शुल्क बापत स्थानीय बासिन्दासँग बार्षिक ३६० रुपैयाँ फोहोरमैला शुल्क असुल्दै आएको गोडियाले बताउनुभयो । गुलरियाको वडा ६ बाहेक अन्य ११ वटा वडामा नगरपालिकाको ट्रयाक्टर पुगेर फोहोर संकलन नगरेको स्थानीय बताउँछन् ।

जनप्रतिनिधिले सुनेनन् स्थानीयबासिन्दाको गुनासा

स्थानीयबासिन्दाले फोहोर संकलनका लागि पटक–पटक अनुरोध गरेपनि जनप्रतिनिधिले नसुनेको गुलरिया ५ का रामु थारूले बताउनुभयो ।

फोहोरमैला व्यवस्थापन हुनुपर्ने र फोहोरमैला सफाइ सेवा बिनै फोहोरमैला शुल्क असुल गर्न नहुने भन्दै गत बर्ष युवा जागरण अभियानको अगुवाइमा नाराबाजी गर्दै नगरपरिषदमा अवरोध पु-याएपनि अहिले सम्म सुनुवाई नभएको थारुले बताउनुभयो ।

नगर प्रमुख मुक्तिनाथ यादवले भने फोहोर नउठाउने ठाउँमा कर संकलन गरे, नगरेको बुझेर छलफल गरी समस्या समाधान गर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार