सिन्धुपाल्चोक : सरकार आफ्नो इमान जमान प्रति कटिबद्ध भएको भए यत्तिबेला काठमाडौ उपत्यकाका बासिन्दाले नुहाउन, पिउन खाना पकाउन मेलम्चीकै पानी प्रयोग गरिरहेका हुन्थे । किनकि सरकारले मेलम्चीको खानेपानी दशैं अघि नै काठमाडौमा ल्याएर वितरण गर्ने पटक पटक घोषणा गरेको थियो ।
तर बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी २०७४ सालभर नआउने पक्का भएको छ । आयोजनाको सुरुङ खन्न अझै १७ सय मिटर बाँकी छ । सुरुङ खनिसकेर पानी ल्याउन दशैंमा सम्भव नभएपनि पुसमा ल्याउन सकिने खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवको घोषणा समेत तुहिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले यसअघि पुसमा मेलम्चीको पानी आउने बताउनुभएको थियो ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर मध्ये अब १७ सय मिटर सुरुङ आगामी डिसेम्बरमा खनिसक्ने लक्ष्य छ । सुरुङ खन्ने काम डिसेम्बर सम्ममा सम्पन्न भए पनि सुरुङ भित्र ढलान गर्न थप तीन महिना समय लाग्ने मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । सुरुङको सम्पूर्ण काम सम्पन्न गर्दा २०७४ साल बित्ने भएकाले मेलम्चीको पानी २०७५ सालमा मात्र काठमाडौका बासिन्दाले पिउन पाउने छन् ।
हाल चार ठाउँबाट खन्दा दैनिक सरदर १६ मिटर सुरुङ खन्ने काम भइरहेको छ । सुरुङको काम निर्माणको काम ९४ प्रतिशत सम्पन्न भएको छ । सिन्धु पहुँच मार्गमाथि रहेको भूभागमा सबैभन्दा कमजोर चट्टान भेट्टिएकाले मासिक प्रगति कम भएको उप कार्यकारी निर्देशक दुवाडीले बताउनुभयो ।
सुरुङ निर्माणको काम सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौको सुन्दरीजलमा आउनेछ । सुन्दरीजलमा साढे ८ करोड लिटरका दुईवटा पानी प्रशोधन मध्ये एउटा प्रशोधन केन्द्र निर्माण सम्पन्न भई परीक्षण समेत भइसकेको छ ।


799 पटक हेरिएको 

