खानेपानी अभावमा उदयपुरगढीका होमस्टे बन्द हुने अवस्थामा

उदयपुरगढी : उदयपुरगढी गाउँपालिका–१  गढीमा सञ्चालित जिल्लाकै पहिलो होमस्टे खानेपानीको अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । पर्याप्त पानी नहुँदा होमस्टे सञ्चालनमा समस्या भएको हो । 

वातावरणीय र ऐतिहासिक हिसाबले गढी रमणीय र सुन्दर भए पनि यहाँका होमस्टेमा बास बस्न आउने पाहुनाका लागि आवश्यक पर्ने प्रयाप्त पानी छैन । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि महिलाले विगत ४ वर्षयता होमस्टे सञ्चालन गर्दै आएका छन् । हाल यहाँ एक दर्जन महिलाले आ–आफ्नो घरमा होमस्टे सञ्चालन गरिरहेका छन् ।

पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाई व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उदयपुरगढीमा वर्षौंदेखि पिउने पानीको समस्या छ । करिब ३० किलोमिटर टाढाको डुम्रेको मुहानबाट पिउने पानी ल्याइएको छ । पाइपलाइनबाट ल्याएको पानी पिउन मात्रै पनि पुग्दैन । नुहाउन र कपडा धुनका लागि पानी नहुँदा पहुनाको बसाई लामो बनाउन नसकिएको संचालकले बताउँदै आएका छन् ।

 “डुम्रेको विकल्पमा गढी नजिकै पानीको स्रोत नहुँदा सरसफाइका लागि पानीको समस्या हुने गरेको छ,”  सञ्चालक उर्मिला कार्कीले भनिन्, “चाहे जति पानी नहुँदा समस्या छ ।” पिउनका लागि मिनरल वाटरले टारे पनि सरसफाई गर्न पानी नभएको उनले बताइन् । 

“पानीको उचित व्यवस्था नहुँदा होमस्टे सञ्चालनमा समस्या छ’ पञ्चावती सामुदायिक होमस्टे  अध्यक्ष इन्द्रकुमारी राईले भनिन्,” पाहुनालाई पिउने पानी नै दिनसक्ने अवस्था छैन ।” उनका अनुसार नुहाउने र लुगा धुने पानी नहँुदा एक साताका लागि आएका पाहुना दुई दिन पनि नबसी फर्किन्छन् ।

होमस्टे सञ्चालनका लागि कच्ची सडक र सञ्चारका पूर्वाधार भए पनि बिजुली र पानी नभएकाले ज्यादै समस्या भएको उनले बताइन् । “पोखरा र बन्दिपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ,” रिता धमलाले भनिन्, नेपालटार उदयपुरगढी सडकको स्तर उन्नतिसँगै प्रसस्त मात्रमा पानी उपलब्ध नहुँदा सोचे जस्तो गर्न नसकिएको खबर कारोबार दैनिकले छापेको छ । 

“सेन वशंका राजाले राज्य गरेको उदयपुरगढी ऐतिहासिक स्थाल हो,” उदयपुरगढी गाउँपालिकाका नायव सुब्बा गुणराज श्रेष्ठले भने, “सामरिक महत्व बोकेको ऐतिहासिक गढी भएकोले बर्सेनि मुलुकका विभिन्न भागबाट पर्यटक आउने गरेका छन् ।” तीनै आन्तरिक र जिल्ला भित्रकै पर्यटकका लागि बास व्यवस्थित गर्न उदयपुरगढीका महिलाले होमस्टे सञ्चालन गरेको उनले बताए । 

होमस्टेमा दैनिक करिब ३० जना पर्यटकलाई सेवा सुविधा उपलब्ध हुने सञ्चालकले बताए । “स्थानीय स्तरमा उपलब्ध सिस्नो, गुन्दुक, कोदोको डिढो, लोकल कुखुराको मासु, मकै र भटमासले स्वागत गर्छौं,” कार्कीले भनिन्, “पानी, बाटो र बिजुलीको मात्रै राम्रो व्यवस्था भइदिने हो भने पनि होमस्टेसँगै हाम्रो आर्थिक अवस्था फस्टाउने थियो ।”    


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार