सप्तरी : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको दलित बस्तीमा फैलिएको झाडापखाला चार दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
झाडापखालाले सकरपुराका ७० जना भन्दा बढी विरामी भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बिहीबारदेखि उपचार थालिएको र विरामी मध्ये मनोज मण्डल र उहाँकी श्रीमती गीता मण्डलको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर पठाइएको छ ।
बस्तीमा झाडापखाला फैलिएपछि स्वास्थ्य शिविर समेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ९० जनाको उपचार भइसकेको छ ।
एक महिना अघि बाढी पस्दा पोखरी र ट्युबवेलको सतह एउटै भएको, ट्युबवेलको पानी ३० फिट गहिराईमै रहेकाले प्रदुषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । तर स्वास्थ्यकर्मीले भने दलित वस्तीमा शौचालयको अभावमा खुला ठाउँमा दिसापिसाब गर्दा झाडापखाला फैलिएको बताएका छन् ।


659 पटक हेरिएको 

