खानेपानीका लागि कुरुवा, एक गाग्री पानी लिन २ घण्टा पैदल

डडेल्धुरा : खानेपानीको मूल सुक्दै गएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका ३ भुल्कुडा लगायत बस्तीका बासिन्दाले खानेपानीका लागि कुरुवा राख्नुपर्ने अवस्था आएको छ । ‘धारामा पानी आउन छाडेपछि २ घण्टा हिडेर पानी बोक्नुपर्छ’ भुल्कुडा गुवाडीका राजेन्द्र बहादुर पाण्डेयले भन्नुभयो ‘आफ्नो पालो मिच्ने हो कि भनेर कुरुवा राख्नुपर्ने अवस्था आएको छ ।’

‘भुलकुडामा पानीको मूल सुक्दै गए, जनसंख्या बढ्दै गयो, पानीको दुःख यति त छैन, वर्णन गरिसाध्य छैन, भरतपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त भट्टले भन्नुभयो ‘पानीको अभाव हुँदा २ घन्टा हिँडेर पनि खानेपानीको लागि कुरुवा बस्नु पर्छ’ ।

तामायनीमा रहेको धारखोलाको मुहानबाट विद्यालय र भुल्कुडाका ६० घरपरिवारले पानी उपभोग गर्दै आएका छन् ।

विद्यालय र वस्तुभाउलाई पनि पानीको अभाव

खानेपानीको मूल सुक्दै गएपछि विद्यालयमा समेत खानेपानीको अभाव हुन थालेको छ । बर्षायाम सक्ने वित्तिकै बिद्यालयका धारामा समेत पानी नआउने प्रधानाध्यापक भट्टले बताउनुभयो । ‘विद्यार्थीले शौचालयमा प्रयोग गर्ने पानीको समेत अभाव हुन्छ, बर्षायाममा पानीको समस्या खासै हुँदैन, माघसम्म जसोतसो चलेपनि फागुन देखि जेठसम्म पानीको हाहाकार हुन्छ’ उहाँले भन्नुभयो ।

खानेपानी अभावले वस्तुभाउ पाल्न समेत समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । वस्तुभाउलाई खुवाउने पानीको अभावमा पशुपालन कम हुदै गएको भुल्कुडाका नरेन्द्र पाण्डेयले बताउनुभयो ।

जलवायु परिवर्तन, वनजंगल फडानी, विकास निर्माणको काम लगाय कारणले पानीको मूल सुक्दै गएको बूढापाकाहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार