महोत्तरी : महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान थालिएको छ । डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, नेपाली सेना, सामाजिक संघसंस्था र नागरिक समाजको अगुवाइमा बस्ती– बस्तीमा सरसफाइ र सचेतना कार्यक्रम शुरु गरिएको हो ।
बर्दिबासमा गतसाता २८ जनामा डेंगु भेटिएपछि डेंगु नियन्त्रण अभियान तीब्र पारिएको हो । डेंगु नियन्त्रणका लागि सरसफाइका साथै डेंगु फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान थालिएको हो ।
अभियान अन्तर्गत मोटर ग्यारेजमा थुपारिएका पुराना टायर र सडक किनारमा फ्याँकिएका टायरका कापमा लामखुट्टेका लार्भा नष्ट गर्न जिल्ला स्वास्थ्य कार्यालयका दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ । डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँ र टायरका कापमा रहने भएकाले पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र अनावश्यक टायर नराख्न नगरपालिकाले आग्रह गरेको छ ।
महोत्तरीको बर्दिबास, धनुषाको मिथिला नगरपालिका क्षेत्र र सर्लाहीको ईश्वरपुर नगरपालिकामा गत साता ६० जना भन्दा बढीमा डेंगुको संक्रमण भेटिएको थियो । बर्दिबासमा भेटिएका २८ जना डेंगुका बिरामी मध्ये अझै १० जनाको उपचार भइरहेको बर्दिबास अस्पतालले जनाएको छ ।