भृकुटीमण्डपमा ४१ लाखमा पहुँचयुक्त सार्वजनिक शौचालय, अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क

काठमाडौ : तपाई काठमाडौंमा बस्नुहुन्छ ? राष्ट्रिय सभा गृह, नेपाल पुलिस क्लव वा नेपाल प्रहरी श्रीमती संघको भवन अगाडि त धेरै पटक पुग्नुभएको होला ? तर अब त्यहाँ पुग्दा तपाईले अर्को संरचना पनि देख्नुहुनेछ । त्यो हो ‘पहुँचयुक्त सार्वजनिक शौचालय’ ।

नेपाल पर्यटन बोर्ड र नेपाल प्रदर्शनी स्थलको भवनको बीचमा पहुँचयुक्त सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याइएको हो । विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुको सरसफाइमा पहुँच बढाउन पहुँचयुक्त सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको हो ।

अपाङ्गता भएकालाई निःशुल्क


सामान्य मानिसले दिसापिसाब गरेबापत शुल्क बुझाउनु परेपनि अपाङ्गता भएका व्यक्तिले भने निशुःक रुपमा प्रयोग गर्न सक्छन् । शौचालय भित्र सामान्य मानिस र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै दिसापिसाब गर्ने ठाउँको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिले ह्वील चेयरबाटै शौचालयसम्म पुग्न सकिने पहुँचमार्गको व्यवस्था गरिएको छ भने शौचालयभित्र पनि अपाङ्गमैत्री संरचना निर्माण गरिएको छ ।

दिसा गर्न कमोड प्यानको व्यवस्था छ, अपाङ्गता भएका व्यक्तिका लागि भित्तामा समाउने ठाउँको व्यवस्था छ । हात धुन अरु ठाउँमा जान नसक्ने भएकाले त्यही कोठामा हात धुने ठाउँको व्यवस्था पनि मिलाएको छ । अपाङ्गता भएका व्यक्तिका लागि दिसा र पिसाब गर्ने छुट्टाछुट्टै ठाउँको व्यवस्था भने मिलाएको छैन ।

पुरुषतर्फ एकैपटक ६ जनाले दिसापिसाब गर्न सकिने


पहुँचयुक्त शौचालयको मूल ढोकाबाट प्रवेश गरेपछि दायाँतिर महिलाका लागि र बायाँतिर पुरुषका लागि विभाजन गरिएको छ ।

पुरुष तर्फ एकै समयमा पाँच जनाले पिसाब र १ जनाले दिसा गर्न हुने गरी संरचना निर्माण गरिएको छ । महिला तर्फ पनि त्यत्ति नै संख्यामा दिसापिसाब गर्न सकिने ठाउँको व्यवस्था रहेको शौचालय सञ्चालन गर्दै आउनुभएका तीर्थबहादुर राईले बताउनुभयो ।

बालबालिकाका लागि भने समस्या
पहुँचयुक्त सार्वजनिक शौचालय सबै उमेर र अवस्थाका व्यक्तिका लागि उपयोगी भएपनि बालबालिकामैत्री नभएको शौचालय सन्चालक बताउँछन् । ‘सबैमा कमोड छ, बस्न पनि नमिल्ने, पिसाब गर्न पनि पिसाबदानी अग्लो छ, दिसापिसाब सतहमै गर्नुपर्ने अवस्था छ’ राईले भन्नुभयो  ‘अरु त अत्यन्त राम्रो छ, पानी पनि चौबीसै घण्टा आईरहन्छ, शौचालय पनि एकदमै सफा गरिरहेका छौं ।’

चर्पी निर्माणका लागि कसको कति सहयोग ?


पहुँचयुक्त सार्वजनिक शौचालय निर्माणका लागि राष्ट्रिय अपाङग महासंघ नेपाल र समाज कल्याण परिषदको समन्वयमा निम्न संस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

CBM – 1824000

water aid – 1200000

Felm – 400000

FAIRMED – 300000

Karuna foundation – 200000

NFDN – 205142


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार