सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा उत्पादित फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा सडक तथा खोला किनारमा लागेर विसर्जन गर्न थालिएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा बजार सफा भएपनि सल्लेरीको सडक किनारा तथा खोलाखोल्सी फोहोरले भरिन थालेका छन् ।
सल्लेरी बजार क्षेत्रमा उत्पादित फोहोरलाई कतिले घरायसी तवरबाटै व्यवस्थापन गरेपनि कतिले भने फोहोरमैला शुल्क बुझाएर नियमित फोहोर संकलन गर्ने व्यक्तिलाई उपलब्ध गराउँदै आएको छ । फोहोर संकलकले पनि डम्पिङ साइट नभएपछि खोलाखोल्सी तथा सडक किनारमा लागेर विसर्जन गर्दै आएको छ ।
खानेपानीको स्रोत दुषित
डम्पिङ साइट नभएपछि साप्ताहिक रुपमा हाट लाग्ने नयाँ बजारको फोहोर पनि खोलामै लगेर फ्याँक्ने गरिएको छ । खोल्सीमा फोहोर फाल्दा पानी प्रदुषित हुने गरेको छ भने सडक क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
बजार क्षेत्रको खोल्सा तथा सडकमा फालिने फोहोरको उचित व्यवस्थापन नभए शहरको शोभा घट्ने मात्र होइन, यसले विभिन्न रोगको महामारी फैलिन सक्ने स्थानीय बासिन्दा बताउँछन् । ‘यो यत्तिकै फ्याँकेर हुँदैन, जनसंख्या बृद्धि र शहरीकरण दिनानुदिन भइरहेका बेला झन् भविश्यमा ठूलो समस्या आउने सम्भावनालाई अहिले देखि नै मध्यनजर गरी दीर्घकालीन योजना बनाउनुपर्छ’ सल्लेरीका कृष्ण कार्कीले भन्नुभयो ।
डम्पिङ साइटका लागि २५ लाख
सोलुदुधुकण्ड नगरपालिकाले डम्पिङ साइटको व्यवस्था गर्न चालु आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरसभाले चालु आर्थिक बर्षमा डम्पिङ साइट निर्माण गरी नगरलाई सफा, स्वच्छ र हराभरा बनाउने योजना अघि सारेको हो । तर तर विगत बर्ष देखि डम्पिङ साइट बनाउन जग्गाको खोजी भइरहेपनि उचित जग्गाको अभावमा डम्पिङ साइट बनाउन नसकेको नगरपालिकाले जनाएको छ ।