दिसा गर्न जाँदा बलात्कृत भएकी किशोरीले बच्चा जन्माइन्, बलात्कारको आरोपमा आफ्नै काका पक्राउ

बारा : दिसा गर्न घर बाहिर गएको बेला बलात्कृत भएकी बाराको महागढीमाई नगरपालिकाकी १६ वर्षीया किशोरीले बच्चा जन्माएकी छिन् । उनले अस्ति कलैया अस्पतालमा छोरी जन्माएको अस्पताल स्रोतले जनाएको छ ।

१० कक्षामा अध्ययनरत किशोरी अहिले माइतमा बस्दै आएकी छिन् ।

बलात्कारको आरोपमा आफ्नै काका पक्राउ

घर बाहिर दिसा गर्न गएका बेला गत माघमा आफ्नै काकाद्धारा बलात्कृत भएको खुलेपछि प्रहरीले किशोरीको काकालाई पक्राउ गरेको छ । घटना हुँदा प्रहरीमा जाहेरी नभएको र बच्चा जन्मेपछि जाहेरी परेकाले कार्वाही प्रक्रिया अघि बढाएको बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले बताउनुभयो ।

‘हामीलाई यसविषयमा केही जानकारी थिएन, बलात्कृत बालिकाका आफन्तले पनि केही भन्नुभएन, तर अहिले बच्चा जन्मिएपछि जाहेरी आएकाले हामीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं’ डिएसपी भुवनेश्वर शाहले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार पक्राउ परेका ३० बर्षीय युवकमाथि जबर्जस्ती करणी मुद्दा अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार