खानेपानी उपभोक्ता समितिका लागि दुई दिने तालिम

🔗
12
Shares

नुवाकोट : नुवाकोटको विदुरमा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि दुई दिने तालिम आज (बुधबार) देखि शुरु भएको छ । किस्पाङ गाउँपालिकाको वडा नं. ४ भाल्चे भित्रका सात वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एसिएफको आर्थिक तथा प्राविधिक सहयोगमा गेर्खुटार युवा क्लवले तालिमको आयोजना गरेको हो ।

हरेक खानेपानी तथा सरसफाइ उपभोक्ताबाट ९/९ जना पदाधिकारी सहभागी रहेको एसिएफकी मोनिटरिङ अफिसर प्रतिज्ञा कट्टेलले जानकारी दिनुभयो । 

खानेपानी योजना सम्पन्न भएपछि यसको सञ्चालन र दीगोपनाका विषयमा व्यवस्थापकीय ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको हो ।

तालिममा खानेपानी योजनाको दिगोपनाका लागि उपभोक्ता समितिको भूमिका, खानेपानीमा मिटर जडान गर्ने तरिका र फाइदा तथा कोष अभिवृद्धि गर्ने उपाय, खानेपानीको शुद्धीकरण गर्ने तरिका, व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइ र उपभोक्ता समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा सुसुचित गराउने अफिसर कट्टेलले जानकारी दिनुभयो । तालिम भोलिसम्म चल्नेछ ।

ग्रामीण खानेपानी मर्मत सम्भार कार्यकर्ताका लागि पनि तालिम

युकेएडको आर्थिक सहयोगमा एसिएफले ग्रामीण खानेपानी मर्मत सम्भार कार्यकर्ताको तालिम पनि आजैदेखि शुरु गरेको छ । तीन दिन सम्म चल्ने तालिममा नुवाकोटको ताडी, किस्पाङ र मेघाङ गाउँपालिका र रसुवाका १६ वटा खानेपानी उपभोक्ता समितिका दुइ/दुई जना गरी ३२ जना ग्रामीण खानेपानी मर्मत सम्भार कार्यकर्ता सहभागी रहेको एसिएफकी मोनिटरिङ अफिसर प्रतिज्ञा कट्टेलले जानकारी दिनुभयो ।

तालिममा खानेपानी टुटेफुटेमा सन्चालन गर्न प्राविधिक ज्ञान दिइनेछ । तालिम पश्चात ग्रामीण खानेपानी मर्मत सम्भार कार्यकर्ताले प्राविधिक दृष्टिकोणबाट खानेपानीको दीगोपनाको लागि काम गर्नेछ ।

‘यो तालिम पूर्ण रुपमा टेक्निकल छ, खानेपानीको सिस्टममा आउने अवरोध हटाउन, टुटेफुटेमा उपभोक्ता समिति भित्रकै मानिसले बनाउन सक्ने गरी उनीहरुलाई सक्षम बनाइनेछ, यसले सानो समस्या आउँदा पनि बाहिरका मानिस बोलाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ’ मोनिटरिङ अफिसर प्रतिज्ञा कट्टेलले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार