शहरी वातावरणीय सुधारको काम तीन बर्षमा ९० प्रतिशत

पर्सा : वीरगञ्जमा निर्माणाधीन एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम तीन बर्षमा बल्ल ९० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना अन्तर्गत ५३ किलोमिटर बर्षे नाला, ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला र ५.१५ किलोमिटर भूमिगत नाला मध्ये अब १० प्रतिशत काम मात्र सम्पन्न हुन बाँकी रहेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ ।

वीरगञ्जका मेयर विजय सरावगी तथा महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्ने क्रममा ठेकेदार कम्पनीले बाँकी काम अब २ महिनाभित्र सकिने गरी काम भइरहेको जानकारी गराए । ‘तीन बर्षदेखि वीरगञ्जका बासिन्दाले झेल्दै आएको दुःख अब रहने छैन’ प्राविधिक प्रमुख शैलेन्द्र श्रेष्ठले भन्नुभयो ।

मेयर सरावगी सहितको टोलीले निर्माणाधीन पानीट्याङ्की, पदमरोड, दोस्रो बाईपास, ल्याण्डफिल साइट, आदर्शनगर, माईराम पोखरी लगायत ठाउँको निरीक्षण गरेका थिए । मेयर सरावगीले फोहर व्यवस्थापन तथा नाला निर्माणमा भएको ढिलाइको विषयमा चासो राख्नुभएको थियो । उहाँले समयमा नाला नबन्दा स्थानीय बासिन्दाले दुःख खेप्नु परेको भन्दै निर्माण कार्यको गति बढाउन पनि निर्देशन दिनुभयो ।

एसियाली विकास बैंकको ८१ प्रतिशत, नगर विकास कोषबाट ११ प्रतिशत ऋण र शहरको ८ प्रतिशत लगानीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना २०१४ बाट शुरु भएको हो ।

३ अर्ब ४८ करोड ३६ लाख १ हजार लागतमा चिनियाँ निर्माण कम्पनी सिटीसिइ र नेपालको कालिका कन्स्ट्रक्सनले काम गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार