काठमाडौ : मेलम्चीको पानी प्रशोधन गरी वितरण गर्न सुन्दरीजलमा निर्माण भएको पानी प्रशोधन केन्द्रको सफल परीक्षण गरिएको छ । मेलम्चीको पानी ल्याएर मात्र परीक्षण गर्दा ढिलाइ हुने भएपछि वाग्मतीको पानी हालेर प्रशोधन केन्द्रको परीक्षण गरिएको हो ।
प्रशोधन केन्द्रका आठ प्रशोधन कक्ष मध्ये अहिलेसम्म तीन कक्षको परीक्षण सफल भएको छ । मेलम्चीबाट ल्याइने दैनिक १७ करोड लिटर पानी मध्ये आठ करोड पचास लाख लिटर क्षमताकोे प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ ।
चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर क्षमताको प्रशोधन केन्द्र मात्र सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको मेलम्चीबाट २७.५ किलोमिटर सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौ उपत्यकामा वितरण गरिनेछ ।
एसियाली विकास बैंकको सहयोगमा अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । अर्को प्रशोधन केन्द्र निर्माण नभएपछि मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याएपनि ८ करोड ५० लाख लिटर पानी मात्र प्रशोधन हुनेछ ।


749 पटक हेरिएको 

