मुगु, सञ्जु तिमल्सिना : तरकारी फलाउन प्रशस्त पानी नै चाहिन्छ भन्ने सोचाइ भएका तपाई हाम्रा लागि हात धुने बाल्टीको व्यवस्था हुँदा हरिया तरकारी फलाएको कुरा अपत्यारिलो हुन सक्छ । तर मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १३ थार्पुकी माघी बोहोराले हात धुने बकेटकै सहायताले ६ जनाको परिवारलाई पुग्ने तरकारी फलाउनुभएको छ ।
बोहोराले हात धुने बकेटमा जम्मा भएको पानीलाई पाइप मार्फत करेसाबारीसम्म पु-याएर सिंचाईको व्यवस्था मिलाउनुभएको हो । ‘हाम्रो परिवारलाई हात धुने ठाउँले सजिलो बनाएको छ । एकातिर नियमित हात धुने बानीको विकासले शरीरमा रोग लाग्न पाएन, अर्कोतिर हरियो तरकारी पनि फलाएर खान पाएका छौं, यसबाट हाम्रो परिवारको स्वास्थ्यमा कति सुधार भएको होला ?’ बोहोराले भन्नुभयो ।
युनिसेफको सहयोगमा हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र हिरिसडेकले छायाँनाथ रारा नगरपालिकाका १२० घरमा बाल्टिन वितरण गरी हात धुने ठाउँको व्यवस्था मिलाएको हो ।
हिरिसडेकले हात धुने बानी प्रबद्र्धन र पानीको बहुउपयोगका विषयमा अभिमुखीकरण गरेपछि माघी बोहोरा लगायत केहीले तरकारी फलाउन थालेका छन् ।
गरे नहुने के रहेछ ? हात धोएको पानीबाट सिंचाई गरेर ६ जनालाई पुग्ने तरकारी फलाएर माघी बोहोराले यही कुराको प्रमाणित गर्नुभएको छ ।