दैलेख : विद्यालयको खानेपानी व्यवस्थापनका लागि विनियोजन गरिएको रकम विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीले फिर्ता गएपछि दैलेखको आठवीस नगरपालिका ४ राकम कर्णालीमा स्थापित जनज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थी कर्णाली नदीको पानी पिउन बाध्य भएका छन् ।
खानेपानी योजनाका लागि साबिकको राकम कर्णाली गाविसले विनियोजन गरेको १ लाख ५० हजार रुपैयाँबाट खानेपानी विद्यालयसम्म ल्याएपनि एक महिनामै बन्द भएको थियो ।
त्यसलाई सुचारु गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खानेपानी व्यवस्थापनका लागि रकम छुटाएपनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरवाहीले फिर्ता भएको अभिभावकहरु बताउँछन् ।
कक्षा १ देखि १२ कक्षासम्मका ८ सय ५३ जना विद्यार्थी कर्णालीको धमिलो पानी पिउन बाध्य छन् । कर्णालीको खानेपानी पिउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या आउन सक्ने सम्भावना रहेको स्रोतव्यक्ति विष्णु पाठकले बताउनुभयो । अघिल्ला बर्षहरुमा खानेपानी योजना निर्माण भए पनि मुहानमा बाह्रै महिना पानी नहुने भएकाले योजना दीर्घकालीन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण माझीले बताउनुभयो ।
छात्रछात्राको लागि अलग–अलग शौचालयको व्यवस्था गरिएको, खानेपानीको व्यवस्था मिलाएको भएपनि दिर्घकालीन हुन नसकेको र कर्णालीको खानेपानी खानुपर्ने वाध्यता सिर्जना भएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले खानेपानी समस्या समाधानका लागि पहल गरिरहेको अध्यक्षले माझीले बताउनुभयो ।
आठबीस नगरपालिका ४ का वडा अध्यक्ष रणबहादुर माझीका अनुसार बालमैत्री स्थानीय तह घोषणाका लागि सबै सूचक पूरा भएपनि खानेपानीको बालमैत्री स्थानीय तह घोषणा गर्ने कार्यक्रम समेत प्रभावितल भएको छ । उहाँले विद्यालयमा खानेपानीको व्यवस्था मिलाइदिन स्थानीय तहमा सञ्चालित सामाजिक संघसंस्थासँग आग्रह गरेको बताउनुभयो ।


760 पटक हेरिएको 

