काठमाडौ, लिखिता बराल : पाँच जनाको परिवार, जो चर्पीमै खान्छन्, चर्पीमै सुत्छन् । चर्पीमा दिसापिसाब गर्न आउनेहरुबाट शुल्क पनि संकलन गर्छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर काठमाडौको भृकुटीमण्डपमा सञ्चालित पहुँचयुक्त सार्वजनिक शौचालय सञ्चालकका परिवार चर्पीमै खाँदै, बस्दै आएका छन् ।
नेपाल पर्यटन बोर्ड र प्रदर्शनी स्थल भवनको बीचमा छ पहुँचयुक्त सार्वजनिक शौचालय । शौचालयमा लाइनै दायाँपट्टि महिला, बायाँपट्टि पुरुष र बीचमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै शौचालयको व्यवस्था छ । त्यही अपाङ्गता भएका व्यक्ति र महिला शौचालयको बीचमा एउटा कोठा छ, त्यसैमा सुत्छन् शौचालय सञ्चालक तीर्थ बहादुर राईका परिवार ।
शौचालयमा दिसापिसाब गर्न आउनेबाट संकलित शुल्कले मात्र शौचालय सञ्चालन खर्च धान्न नसक्ने भएकाले पहुँचयुक्त सार्वजनिक शौचालयलाई बहुउपयोगी बनाइएको छ । जस अन्तर्गत शौचालयको भित्तामा विज्ञापनका लागि ४ वटा होर्डिङ बोर्ड राख्ने ठाउँ राखिएको छ भने शौचालयको बायाँपट्टिको छेउमा पसल सञ्चालन गर्न मिल्ने सानो सटर पनि राखिएको छ । शौचालय सञ्चालक राइले त्यही सटर पनि भान्छा कोठा तथा सुत्ने काममा प्रयोग गर्दै हुनुहुन्छ ।
मानिस नै बसोबास गर्न मिल्ने गरी शौचालयको संरचना बनाएको नभएपछि अहिले तत्कालका लागि उपयोगमा ल्याएको राईले बताउनुभयो । ‘अहिले सुत्नका लागि प्रयोग गरिरहेको एउटा कोठा भण्डार कोठा हो, यसमा थन्क्याउने सामान केही नभएपछि लोबेड राखेर सुत्ने गरिएको छ, यो सटर हेर्न चाहिं आउँछन् तर भाडामा कुरा नमिलेपछि अहिलेसम्म कसैले लिएका छैनन् त्यसैले हामीले खाना यही पकाउने र सुत्ने गरिरहेका छौं ।’ राईले भन्नुभयो ।
पहुँचयुक्त सार्वजनिक शौचालय अपाङ्गता भएका व्यक्तिहरुको सरसफाइमा पहुँच बढाउन वाटर एड, सिबीएम्, करुणा फाउण्डेशन,Felm, FAIRMED, NFDN लगायत सामाजिक संघसंस्थाको संयुक्त लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
शौचालयमा दिसापिसाब गरेबापत सामान्य मानिसले शुल्क बुझाउनु परेपनि अपाङ्गता भएका व्यक्तिले शुल्क तिरिरहनुपर्दैन ।