राजविराज : सप्तरीको बरसाइनका बासिन्दा सुरक्षित खानेपानीको अभावमा आइरनको मात्रा उच्च भएको पानी पिउन बाध्य भएका छन् । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार खानेपानीमा आइरनको मात्रा प्रति लिटर ०.३ मिलिग्राम भन्दा बढी हुन नहुने भएपनि बारसाइनका बासिन्दाले गाडेका ट्यूबवेलमा आइरनको मात्रा कयौं गुणा बढी रहेको वीरेन्द्र साहले बताउनुभयो ।
सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारका बासिन्दाले सुरक्षित खानेपानीको अभावमा लामो समयदेखि आइरनयुक्त खानेपानी उपभोग गर्दै आएका छन् ।
खानेपानीको ट्युबबेलमा आइरनयुक्त पानी आउने गरेकाले सुरक्षित पानी पिउन नपाएको बरसाइनका वीरेन्द्र साहले बताउनुभयो । अधिकांश टु्यबबेलको पानीमा आइरनको मात्रा धेरै भएकाले लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने साहले बताउनुभयो ।
‘आइरन भएको पानीले भाँडा माझ्दा पनि रातो हुने गरेको छ, दाँत माझ्दा दाँत खराब हुन्छ, नुहाउँदा कपाल फुले जस्तो देखिन्छ, अब शरीरको भित्री अंगमा कति समस्या पारेको होला ?’ साहले प्रश्न गर्नुभयो ।
खानेपानी वितरणको कुनै व्यवस्था नहुँदा हरेक नीजि ट्यूबवेल गाडेका छन् । करिब ९० प्रतिशत टु्यबबेलमा आइरन र आर्सेनिक पानी आउने गरेको उहाँले बताउनुभयो ।
बोदेबरसाइनको जोगिया, बराहा, शारसर, नेङडा, धनगढी, काचन, देउरी, फूलकाही खडकपुर, मानराजा र लागपुरलगायत दर्जनौँ गाउँको टु्यबबेलमा आइरनयुक्त पानी आउने गरेकाले आफूहरुको स्वास्थ्य विग्रदै गएको जोगियाका रोशन यादवले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले भने बरसाइनको खानेपानी समस्यालाई उच्च प्राथमिकतामा राखिएको र चाँडै सम्बोधन हुने जनाएको छ ।


923 पटक हेरिएको 

