महाशिला गाउँपालिकामा एक घर, एक धारा

🔗
0
Shares

पर्वत : पर्वतको महाशिला गाउँपालिकामा एक घर एक धारा अभियान शुरू भएको छ । पर्वतको सबैभन्दा सानो गाउँपालिका महाशिला गाउँपालिकाका होस्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुंखु् र फलामखानीमा एक घर एक धारा पु-याउन काम शुरू भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै खानेपानीको अभाव भएको महाशिलाको वडा नं. ६ फलामखानीमा खानेपानी योजना शुरू भइसकेको छ । फलामखानीमा महाशिला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाको संयुक्त लगानीमा खानेपानी आयोजना शुरू भएको हो ।

लिफ्ट खानेपानी आयोजनाबाट फलामखानीका १ सय २० घरधुरी लाभान्वित हुने छन् । अहिलेसम्म आकाशको पानी र आहालको पानी पिउन बाध्य भएका फलामखानीका बासिन्दाले यस वर्षभित्रै स्वच्छ खानेपानी उपभोग गर्न पाउने गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

वस्तीबाट करिब ४ सय ४० मिटर तल रहेको सिस्नेरी खोलाबाट पानी तानेर ल्याइने छ । खानेपानी आयोजना सम्पन्न गर्न करिब २ करोड २२ लाख रुपैयाँ लागतमा पर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

फलामखानीमा सञ्चालित लिफ्ट खानेपानी योजनाका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको छ भने बाँकी रकम पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाले व्यहोर्नेछ ।

होस्राङदीमा पनि लिफ्ट खानेपानी योजना

महाशिला गाउँपालिकाको वडा नं. १ होस्राङदीमा समेत लिफ्ट खानेपानी योजना सञ्चालन भइरहेको छ । पाखापानीको सिम्ले, बालाकोट लगायत पानीको स्रोत नभएको बस्तीलाई पहिलो प्राथमिकता दिने र स्रोत भएको ठाउँमा पानीको व्यवस्थापनका लागि विस्तारै योजना लागु गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार