नवलपरासी : तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत नवलपरासीमा १८ वटा खानेपानी आयोजना निर्माणको काम शुरु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ३ करमहिया, सुनवल ३ पँचैया, सरावल गाउँपालिका १ खोकरपुरा र वडा नं. ४ बडसार र सुस्ता गाउँपालिकाको कुँडियामा खानेपानी आयोजना निर्माण भइरहेका छन् ।
चालु आर्थिक बर्षमा १८ वटै योजनाका लागि तीन करोड ३० लाख रुपैयाँ बराबरको काम सम्पन्न गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका प्रमुख पूर्ण बहादुर ज्वारचनले जानकारी दिनुभयो ।
तराइ मधेसका २० वटा जिल्लामा लागु भएको खानेपानी सुधार कार्यक्रम अन्तर्गत नवलपरासीमा पनि ती खानेपानी आयोजना शुरु भएको डिभिजन प्रमुख ज्वारचनले जानकारी दिनुभयो ।
तराई मधेसको खानेपानीमा देखिएको आर्सेनिकको समस्या समाधान गर्न सरकारले २०७३÷०७४ बाटै तराई मधेश खानेपानी सुधार कार्यक्रम सन्चालन गरेको हो ।
विद्युत आपूर्ति रोकिँदा पनि सेवा नियमित हुने
खानेपानी आयोजनामा सोलार पम्प जटित ओभरहेड ट्याङ्की सहितको डिप बोरिङ प्रणाली जडान गरिने भएको छ । नवलपरासीमा निर्माणाधीन १८ वटै खानेपानी आयोजनामा सोलार प्यानल जडान गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीले जनाएको छ ।
सोलारबाट विद्युत आपूर्ति गरिने भएकाले विद्युत अनियमित भए पनि पानी प्रशोधन र वितरण गर्ने काम प्रभावित नहुने कार्यालयले जनाएको छ ।


808 पटक हेरिएको 

