भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अबको २५ वर्षसम्मको खानेपानीको मागलाई धान्ने गरी ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । निर्माणाधीन ओभरहेड ट्यांकी चार लाख ५० हजार लिटर क्षमताको बन्ने र यसले दुवाकोट क्षेत्रका बासिन्दाको २५ बर्षसम्मको खानेपानीको मागलाई धान्ने दुःख हरणेश्वर महादेव खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।
ओभरहेड ट्यांकी निर्माण गर्नुअघि खानेपानी तथा ढल निकास विभागले गरेको सर्भे अनुसार दुवाकोटको हालको जनसंख्याको खानेपानीको आवश्यकतालाई २५ वर्ष धान्ने देखाएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
ट्यांकी निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ट्यांकी निर्माणका लागि ठुलठूला आठ/आठ वटा पिलर उठाइएको छ ।
एक करोड ८५ लाख रुपैयाँमा निर्माण भइरहेको ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएपछि दुःख हरणेश्वर महादेव खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मातहतमा आउनेछ । त्यसपछि दुवाकोट क्षेत्रका एक हजार पाँच सय घरपरिवारलाई पर्याप्त खानेपानी वितरण गर्न सकिने अध्यक्ष केसीले बताउनुभयो ।
३ सय २५ परिवारलाई वितरण
दुःख हरणेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अहिले ३ सय २५ परिवारलाई खानेपानी सेवा वितरण गरिरहेको छ । ‘अहिले ३ सय २५ निजी धारा मार्फत दैनिक एक लाख ५० हजार लिटर खानेपानी वितरण गर्दै आएका छौं, यस क्षेत्रमा बस्ती विस्तारसँगै निजी धाराको माग बढिरहेको छ, अध्यक्ष केसीले भन्नुभयो ‘ओभरहेड ट्यांकी निर्माण पूरा भएपछि एक हजार पाँच सय घरधुरीलाई पर्याप्त खानेपानी वितरण गर्न सकिनेछ ।’
अध्यक्ष केसीका अनुसार समितिले अहिले दुइटा डीप बोरिङ मार्फत पानी बोरिङ गरेर डेढ लाख क्षमताको ट्याङ्की मार्फत खानेपानी वितरण गर्दै आएको छ ।


1050 पटक हेरिएको 

