सरसफाइ अभावमा परासी बजार दुर्गन्धित

नवलपरासी : सरसफाइको अभावमा नवलपरासीको सदरमुकाम परासीको हाटबजार दुर्गन्धित हुँदै गएको छ । रामग्राम नगरपालिकाले बनाएको एउटा मात्र शौचालयले धान्न नसक्दा, बजारमा जथाभावी फोहोर फ्याँक्दा र व्यवस्थापनमा कसैको ध्यान नजाँदा बजार दुर्गन्धित बन्दै गएको हो । 

बजारमा पर्याप्त पक्की छाप्रो नहुँदा व्यापारीले प्लाष्टिकको छाप्रो बनाएर सञ्चालन गर्दा फोहोर पनि त्यत्तिकै बढेको व्यापारी सञ्जय अग्रहरीले बताउनुभयो ।

हप्ताको दुई पटक हाट लाग्ने परासी बजारमा रहेका अव्यवस्थित मासु पसलले पनि थप दुर्गन्ध फैलाएको हाटबजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधेश्याम अग्रहरीले बताउनुभयो ।

झरही नदी किनारमा लाग्ने बजारमा बधशाला नहुँदा मासु पसलेले खुला रुपमा खसी र कुखुरा काटेर बेच्दै आएका छन् । बधशालाबाट उत्पन्न भएको फोहोर समेत झरही नदीमै बगाउँदा नदी पनि प्रदुषण हुँदै गएको छ । कुनै समय निर्मल नदीमा अहिले लादी बग्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।

व्यापारीको संस्था परासी बजार व्यवस्थापन समितिले दुर्गन्ध नियन्त्रण गर्ने प्रयास समेत नगरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

तरकारी बजारका रुपमा परिचित हाट बजारमा तरकारीका साथै अरु दैनिक उपभोग्य बस्तुको पनि किनबेच हुने गरेको छ । रामग्राम नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँको बजार ठेक्का लगाए पनि बजारबाट आउने रकम बजार व्यवस्थापनमा नलगाउँदा समस्या भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार