धनकुटा, उषा खड्का : विश्व बैंकले पूर्वका दुई पुराना खानेपानी आयोजनाको अनुगमन गरेको छ । बैंकको अनुगमन टोलीले झापाको चन्द्रडाँगी खानेपानी आयोजना र धनकुटाको डाँडाबजार खानेपानी आयोजनाको अनुगमन गरेको हो ।
धनकुटामा सञ्चालित धेरै खानेपानी आयोजना मध्ये आठ वर्ष अघि निर्माण सम्पन्न भएको डाँडाबजार खानेपानी आयोजनालाई अनुगमनका लागि छनौट गरिएको हो । उक्त आयोजना फण्डवोर्डको सातौ समुह अन्तर्गत फण्डवोर्डको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित खानेपानी आयोजना हो ।
२०६६ सालको अन्त्यतिर सम्पन्न भई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको डाँडाबजार खानेपानी आयोजनाले अहिले १ सय ७१ घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ ।
२९८ मिटर पानी लिफ्ट गरी सञ्चालन गरिएको खानेपानी आयोजनाले डाँडाबजारका वासिन्दालाई सुरक्षित खानेपानी सँगै स्वास्थ्य र सरसफाइ शिक्षा पनि प्रदान गरिरहेकाले वातावरणीय स्वच्छतामा पनि टेवा पुगेको जानकारी गराएको डाँडाबजार खानेपानी आयोजनाका अध्यक्ष चन्द्र बहादुर लिम्वुले वताउनुभयो ।
अनुगमन टोलीमा फण्डवोर्डका प्रवेश निरौला र रोशन जोशी गरी दुई जना, विश्व बैंकबाट अनु राजभण्डारी र इश्वर न्यौपाने गरी २ जना र पर्डेप नेपालका ३ जना प्रतिनिधीहरु सम्मिलित थिए ।


724 पटक हेरिएको 

